पर्यटकलाई लठ्ठै बनाउने ढोरपाटनको ‘बुकी फूल’

पर्यटकलाई लठ्ठै बनाउने ढोरपाटनको ‘बुकी फूल’

म्याग्दी : समथर फाँट र भिरालो पाखामा फुलेका रङ्गीबिरङ्गी फूल, चरन क्षेत्रमा रमाइरहेका घरपालुवा जनावरको बथान, पहाडका टाकुराबाट पृष्ठभूमिमा देखिने हिमाल, बादल, घाम र आकाशे पानीको लुकामारी। अनि कोलाहलमुक्त वातावरण, शीतल हावापानी, चराचुरुङ्गी र जनावरहरूको आवाज। 

यी दृश्य हुन्, पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लाको एक हजार तीन सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको हो। 

नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनको फाँट र पाखा बुकी फुलेर रङ्गिएपछि रमणीय बनेको छ। लेकमा फुल्ने फूलहरूलाई समग्रमा बुकीका नामले चिन्ने गरिन्छ। 

ढोरपाटन पर्यटन प्रवर्द्धन विकास संस्थाका सचिव जीवनकुमार पुनले वन्यजन्तु र घरपालुवा जनावरको पोषिलो आहारा बुकीले पर्यटक लोभ्याउन थालेको बताए। 

सडक, यातायात, होटल तथा घरबास सुविधा, सञ्चार माध्यम र सामाजिक सञ्जालका कारण बुकी फुलेको हेर्न, फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न र प्रकृतिसँग रमाउन दैनिकजसो पर्यटक आउने गरेका ढोरपाटन सामुदायिक होमस्टेका सञ्चालक रामबहादुर घर्ति मगरले बताउँछन्। 

समुद्री सतहदेखि चार हजार १० मिटर उचाइमा रहेको गर्पाछेडा क्षेत्रमा फुलेका थरीथरीका फूलले रङ्गिएको ढोरपाटन बर्खायाममा झनै रमाइलो हुन्छ। त्यसैलाई हेर्न शुक्रबार, शनिबार र छुट्टीको दिन देशका विभिन्न सहरबाट ढोरपाटन घुम्न पर्यटकहरू पुग्ने गरेका छन्। 

ढोरपाटन सिकार आरक्षका संरक्षण अधिकृत मण्डिप पँगेनीका अनुसार साउनदेखि असोजको पहिलो हप्तासम्म बुकी फुल्ने गर्छ। 

संरक्षण अधिकृत पशुपति अधिकारीले आरक्ष क्षेत्रमा पाइने १३ प्रजातिका फरकफरक फूलको तस्बिर र स्थानीय नाम सङ्कलन गरेका छन्। जसमा दहीठेकी, राक्षस, बिसौरी, बोक्सी, राके, दूधे, ओठे, पुतली, नाकेफुली, फट्याङ्ग्री, प्याउली, मदाने र कापचुच्चे स्थानीय नाम गरेका फूलको तस्बिर छ। 

आरक्षले फूलहरूलाई संरक्षण गर्न चरन क्षेत्रबाट ट्र्याक्टरमा गाईवस्तुको मल उठाउन रोकेको छ। पोषिलो घाँस खुवाउन म्याग्दी, बागलुङ र पूर्वी रुकुमका किसानले ढोरपाटनको बुकीमा गाईभैँसी, भेडाबाख्रा र घोडा चराउन गोठ लगेर गएका छन्।

आरक्षका रेञ्जर सागर सुवेदीका अनुसार २०८१ को साउन महिनाको १ देखि २८ सम्म पाँच सय ८१ जना नेपाली पर्यटकहरूले ढोरपाटन भ्रमण गरेका छन्। आर्थिक वर्ष २०८०/८१ मा १५ हजार पाँच सय ७३ जनाले भ्रमण गरेको ढोरपाटनमा पर्यापर्यटन शीर्षकमा १९ लाख ३३ हजार सात सय राजस्व सङ्कलन भएको छ। 

ढोरपाटन घुम्न नेपालीले प्रतिव्यक्ति एक सय रूपैयाँ , सार्क राष्ट्रकाले प्रतिव्यक्ति एक हजार पाँच सय र अन्य देशकाले तीन हजार  रूपैयाँका दरले शुल्क तिर्नुपर्छ। 

ढोरपाटन सिकार आरक्षका प्रमुख वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार गत आर्थिक वर्षमा चार करोड ७१ लाख दुई हजार छ सय २८ राजस्व सङ्कलन भएको छ। अघिल्लो आर्थिक वर्ष २०७९/८० मा तीन करोड ४८ लाख राजस्व सङ्कलन भएको थियो।  

साउन ३०, २०८१ बिहीबार १५:०१:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।