क्यानले ‘क्यूरेटर’ माग्यो, मन्त्रायलले सोध्यो- ‘के हो त्यो भन्या?’

क्यानले ‘क्यूरेटर’ माग्यो, मन्त्रायलले सोध्यो- ‘के हो त्यो भन्या?’

काठमाडौं :  नेपालका खेलकुदका गतिविधिहरू विकास भइरहँदा त्यसमा आवश्यक प्राविधिक जनशक्तिको पनि माग बढिरहेको छ। चाहे त्यो फुटबल, क्रिकेट होस् वा अन्य खेलकुद।

नेपालमा अहिले अहिले दुई वटा अन्तर्राष्ट्रिय क्रिकेट मैदान छ। आईसीसीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानीस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मैदानको मान्यता दिएको छ।

गत वर्ष एसीसी प्रिमियर कप आयोजना हुँदा त्यसका लागि एसीसीले मुलापानी मैदान तयार पार्यो। एसीसीले त्यसका लागि भन्दै बंगलादेशबाट कन्सल्टेन्टको रुपमा क्यूरेटर समेत उपलब्ध गरायो। 

त्यसपछि पनि ती बंगलादेशी क्यूरेटर अब्दुल मलालमुमले अहिले पनि मुलपानीको मैदानमा काम गरिरहेका छन्। नेपाल क्रिकेट संघले उनलाई कन्सल्टेन्टको रूपमा काम लगाइरहेको छ। एसीसी प्रिमियर कपको दौरान उनीहरूलाई एसीसीले नै राखेको थियो।

नेपालमा कुनै पनि विदेशी प्रशिक्षक वा अन्य प्राविधिक व्यक्ति झिकाउँदा खेलकुद मन्त्रालयको स्वीकृति लिनुपर्ने प्रावधान छ। सो अनुरुप उनको श्रम स्वीकृति लगायतका आवश्यक प्रक्रियाका लागि क्यानले राष्ट्रिय खेलकुद परिषद्मार्फत युवा तथा खेलकुद मन्त्रालयमा प्रस्ताव लिएर गएको थियो।

तर उक्त समयमा मन्त्रालयका पदाधिकारी क्यूरेटरबारे जानकार देखिएनन्। के हो क्यूरेट भनेको भनेर सोधे।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एक अन्तर्वार्ताको क्रममा भने, ‘नेपाल क्रिकेट संघ (क्यान)ले केही दिनअघि प्रशिक्षक होइन, क्यूरेटर माग्नुभयो। मन्त्रालयले क्यूरेटर भनेको के हो भनेर सोध्यो। क्यूरेटर भनेको क्रिकेटको घाँसे मैदान र पिचलाई केयर गर्ने प्राविधिक मान्छे हो भनेँ। त्यसपछि उहाँहरूले त्यस्तो मान्छे पनि नेपालमा छैन र भन्ने प्रश्न उठ्यो। तर छैन नेपालमा।’

नेपालमा दक्ष प्राविधिक जनशक्ति नभएको भन्दै त्यस्ता जनशक्ति उत्पादनमा जोड दिनुपर्ने सदस्य सचिव घिसिङले बताए।

‘हाम्रो खेलहरु विकास भइरहँदा खेल प्रशिक्षक, निर्णायक र खेलाडीहरु मात्र उत्पादन गरेर हुँदैछ। तिनका लागि काम गरिदिन पर्दा पछाडि धेरै प्राविधिकहरु हुन्छन्। जसका कारणले मात्र खेल र खेलाडीको विकास सम्भव छ। त्यो जनशक्ति पनि उत्पादन गर्न आवश्यक छ भन्ने महसुस गरेको छ।’

साउन ३०, २०८१ बिहीबार १२:३७:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।