फुटबल कि सिम खेतको रोपाइँ?

फुटबल कि सिम खेतको रोपाइँ?

काठमाडौं : मंगलबार एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भयो। नेपालको चर्च ब्वाइज युनाइटेड र भुटानको पारो एफसी क्लबबीच भएको खेल भुटानी क्लबले २-१ ले जित्यो।

भुटानको क्लबले पहिलो पटक एएफसी च्यालेन्ज लिगको लिग स्टेजमा पुगेर इतिहास रच्यो। चर्चा त्यसको हुनुपर्ने हो, तर भयो मैदानको खराब अवस्थाको।

लामो समयदेखि अन्तर्राष्ट्रिय खेल नभएको रंगशालामा मंगलबार साँझ दुई क्लबले भिडे। खेलअघि मुसलधारे वर्षा भयो। फुटबल मुसलधारे वर्षा भइरहे पनि खेलिने खेल हो। विदेशमा खेलिने विभिन्न लिगहरूमा त्यस्तै देखिन्छ। मंगलबार वर्षा रोकिएपछि सुरु भएको खेलमा नेपाली र भुटानी खेलाडीहरू मैदानमा चिप्लिएर बेजोडले लडे भने मैदानमा बल गुड्नै समस्या देखियो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एन्फाबाट खोसेर स्तरोन्नतिको जिम्मा लिएको मैदानमा महिनौंको मर्मतपछि खेलिएको खेल कुनै ग्रामीण भेगमा खेलिएको खेलजस्तो देखियो। केहीले सामाजिक सञ्जालमा मैदानको बारेमा व्यङ्ग्य गर्दै लेखे, ‘सिम खेतमा रोपाइ गरेजस्तो’।

अर्का प्रयोगकर्ताले माटोले लतपतिएको खेलाडीले तस्बिर राख्दै लेखे, ‘दिनभरी राेपाइँ गरेर आउँदा पनि म यत्तिको भाकाे थिइनँ।’

मैदानको अवस्था थियो नै त्यस्तै। आलोचनाका बीचम राखेपले बुधबार एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई बोलाए। तर, नेम्वाङ स्वास्थ्य अवस्थालाई देखाएर उपस्थित भएनन्। मैदानमो विषयमा चौतर्फी आलोचना भएपछि राखेपका सदस्य सचिव टंकलाल घिसिङले बुधबार नै त्यसबारेमा छलफल गरिसकेका छन्।

दशरथ रंगशालामा ड्रेनेज सिस्टम उचित नहुँदा मंगलबार त्यस्तो अवस्था देखिएको हो। भूकम्पपछि मैदानको जिर्णोद्दार गर्दा मैदानभित्रको ड्रेनेजलाई प्राथमिकतामा नराख्दा समस्या उत्पन्न भएको सदस्य सचिव घिसिङको भनाइ छ। त्यसका लागि आफूहरुले स्वदेशसहित विदेशका जनशक्तिको समेत प्रयोग गर्नुपर्ने अवस्था आएको बताए।

‘नेपालका जनशक्तिमा मात्र त्यस्तो ज्ञान नभए विदेशबाट समेत जनशक्ति ल्याएर काम गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसका लागि योजनाको प्रारुप र बजेटबारे राखेपले संघसँग छलफल गर्नेछ।’

नेपालको रंगशालाको अवस्था निरीक्षण गरेपछि केही महिनाअघि विश्वकप छनोटको बहराइन र युएईसँगको खेल नेपालमा हुन सकेन। एसियाली खेलकुद संघले नेपालको मैदान खेल्नका लागि अयोग्य ठहर्याउँदै सुरक्षा चुनौती देखेको थियो। त्यसपछि एन्फाको स्वामित्वमा रहेको दशरथ रंगशालालाई राखेपले आफ्नो मातहतमा ल्याएर मर्मतको काम गर्दै आएको थियो।

तीन महिनाभन्दा लामो समय मर्मतपछिको खेल पनि सिम खेलमा रोपाइँ गरेजस्तो भएपछि राखेपको पनि अहिले चर्को आलोचना भएको छ। राखेपले यसलाई सुधारको काम जारी राख्ने बताएको छ।

साउन ३१, २०८१ बिहीबार १२:१३:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।