गीतकार भुषण खरेलको हिजोको कुरा : भक्तराज आचार्य प्रष्ट वक्ता, नारायण गोपालसँग सबै डराउँथे
काठमाडौंको छत्रपार्टी नजिकै २०१७ सालमा जन्मिएका हुन् गीतकार भुषण खरेल। उमेरले ६४ वर्ष पुगेका उनी गीत लेखनमा अझै सक्रिय छन्। बुवा नेपाल प्रहरीमा निरीक्षक र आमा शिक्षिका भएकाले उनको पढाइ राम्रै थियो। कीर्तिपुरको ल्याबोरोटरी स्कुलमा पढे उनले।
पढाइमा इन्जिनियरिङ गरेका उनी गीत संगीतमा पनि रुचि राख्थे। यता सिभिल इन्जिनियरको जागिर चलिरहँदा २०३९ सालमा उनले ओम विक्रम विष्टको सहयोगमा रेडियो नेपालमा गीत समेत रेकर्ड गराउने अवसर पाए। त्यसबापतको पारिश्रमिक १० रुपैयाँ पाएका थिए उनले।
७६ सालमा जागिरबाट अवकाश पाएपछि उनी आाजकल घरमै बसेर गीतहरू लेखिरहन्छन्। जीवनका ६४औं वसन्त चलिरहँदा उनले जीवनमा धेरै अनुभव भोगेका छन्। त्यहि अनुभवलाई उनले उकेराको नियमित स्तम्भ ‘हिजोका कुरा’मा यसरी प्रस्तुत गरेका छन्ः
स्कुल पढ्दाका अनुभव
म जन्मेको छत्रपाटीमा। त्यहाँ खरेलहरू बसोबास गर्थे। मेरो बुवा नेपाल प्रहरीमा जागिरे हुनुहुन्थ्यो, देखेपछि मेरो पनि सातो जान्थ्यो। उहाँले कहिल्यै एक झापड पनि हान्नुभएन तर मलाई किन त्यति धेरै डर लाग्थ्यो, मलाई नै थाहा छैन।
मेरो तीन कक्षाभन्दा माथिको पढाइ कीर्तिपुरस्थित ल्याबोरेटरी स्कुलमा भयो। त्यतिबेला पनि स्कुल बस घरमै लिन आउँथ्यो। बस र स्कुलको फिस गरेर महिनाको ३० रुपैयाँ पर्थ्यो। सस्तै थियो त्यतिबेला। बरफ त २० वा २५ पैसामा पाइन्थ्यो।
२/३ रुपैयाँ हुँदा त खाजा मनग्ये पुग्थ्यो। चिया ५ वा १० पैसामा एक कप आउथ्यो। अहिले अलिक राम्रो ठाउँमा बस्यो भने सय रुपैया भन्दा माथी नै पर्छ। साधारण पसलमा पनि ३० रुपैयाँ पुगिसक्यो। खानेकुराहरू त्यतिबेला अहिलेको तुलनामा निकै सस्तो लाग्छ।
मेरो आमा त आरआरको कलेजको शिक्षिका हुनुहुन्थ्यो। बानेश्वर क्याम्पसको संस्थापक नै हो। त्यो बेलामा सबैले पढ्न पाउँथे। नपाउने भन्ने कुरै थिएन। मैले त्यहि ल्याबोरोटरी स्कुलबाट नै एसएलसी दिएको हो। मैले एसएलसी दिदासम्म स्कुलको शुल्क बढेर ९० रुपैयाँ पुगेको थियो।
छत्रपाटीमा जन्मे पनि मेरो हुर्काइ भने नयाँ बानेश्वरमा भयो। बुवाले पछि यहाँ सरेपछि मेरो खेल्ने, हिँड्ने र मिल्ने साथीहरू सबै छत्रपाटीमै छुटे। हामी बानेश्वरमा सर्दा स्याल कराउने झाँडी थियो। साँझ परेपछि घरबाहिर निस्कनै डर हुन्थ्यो।
सूर्यविनायकबाट आउने ट्रलिबस चढेर छत्रपाटी गइन्थ्यो। साथीहरूसँगको गन्थनमन्थनले राति आठ बजिहाल्थ्यो। अनि बानेश्वर आउन असाध्यै डर हुन्थ्यो। यता आउने बस्ती नै थिएन। डरका कारण डिल्ली बजारको बाटो हुँदै पुरानो बानेश्वर भएर मात्र घर आउँथे।
हाम्रो घरको भुइँतला बाटै एयरपोर्टमा प्लेन बसेको उडेको सबै झर्छङ्ग देखिन्थ्यो। अहिले त खै केहि देखे पो। त्यो त सपना जस्तो लाग्छ।
रेडियो नेपालमा ३९ सालमा पहिला गीत रेकर्ड
मैले गीत तथा कविता लेख्न थालेको ३३ सालबाट नै हो। त्यतिबेला नयाँ सन्देश भन्ने पत्रिका निस्किन्थ्यो। त्यसमा एक साइडमा कविता, गीत छापिने गर्थ्यो। त्यसमा मैले लेखेको कविता, गीतहरू पनि छापिन्थेँ।
पत्रिकामा छापिएका गीत तथा कविताहरूको हौसलाले मलाई रेडियो नेपालसम्म पुर्यायो। मेरो पहिलो ‘बिहानीको लाली छायो’ बोलको गीत रेकर्ड ३९ साल जेठमा भएको थियो। यो गीतमा ओम विक्रम विष्टको संगीत छ।
त्यतिबेला रेडियो नेपालमा गीत रेकर्ड गर्दा सहज थियो पनि थिएन पनि। अहिलेको जस्तो डिजिटल तरिकाले गीत रेकर्ड गर्न मिल्दैनथ्यो। गीत सेन्सर भएपछि यो दिन रेकर्ड हुँदैछ है भन्ने हुन्थ्यो। त्यहि समयमा गायकलाई पनि बोलाइएको हुन्थ्यो।
दिइएको समयमा गायकले र बाजा बजाउनेले गाउन सकेको खण्डमा गीत रेकर्ड भयो। त्यसमा कसैले मिस्टेक गर्यो भने पटक–पटक मेहनत गर्थे। सबै लाइभ नै हुन्थ्यो। गाउन नसकेको खण्डमा अर्को कुनै समयमा बोलाइन्थ्यो।
गीत रेकर्ड गर्दा पैसा खर्च गर्नुपर्दैनथ्यो। उल्टै पारिश्रमिक बापत १० रुपैयाँ दिइन्थ्यो। श्रष्टा मार्नु हुँदैन भन्थेँ र खर्च दिन्थेँ। गीत लेखनमा अनुशासन पनि थियो। अहिलेको जस्तो सुन्नै नसकिने खालका गीतहरू रेकर्ड नै हुँदैनथ्यो।
रेडियो नेपालमा सेन्सर भएपछि मात्रै गीत रेकर्ड हुन्थ्यो। सेन्सर पास भएको गीतहरूको सूची टासिन्थ्यो। त्यहि हेरेर आफ्नो गीत रेकर्ड हुँदैछ भन्ने थाहा हुन्थ्यो। गीतका शब्द नमिलेको र कसैलाई होच्याइएको छ भने छानिदैनथ्यो।
शशी गुरुङले गाउनुभएको मेरो एउटा गीत थियो, ‘सम्हाली राख छातीभरिका चाहनालाई, कहिँ कतै छछल्किएर पोखिजाला।’ यो गीतको एक लाइन शब्दले गर्दा फालिएको थियो। पछि मिलाएपछि छानियो।
‘सम्हाली राख छातीभरिका चाहनालाई कहि कतै छछल्किएर पोखिजाला’ भन्ने ठाउँमा ‘सम्हाली राख आँखाभरिका चाहानालाई कहि कतै छछल्किएर पोखिजाला’ भन्ने बनाएपछि बल्ल सेन्सर पास भयो।
सिंहदबारमा तरकारी खेती
मैले रेडियो नेपालमा गीत रेकर्ड गराउँदाको समयमा सिंहदरबार छिर्न न पास चाहिन्थ्यो, न भनसुन नै। जो कोही मान्छे सहजै भित्र बाहिर गर्न सक्थेँ। नेता मन्त्री मात्र होइन, सर्वसाधारण पनि जाने आउने गर्थेँ।
कतिसम्म थियो भने यहाँका नेवार समुदायले सिंहदरबारमा तरकारी खेती गर्थे। मलाई अहिले पनि याद छ, सूचना तथा प्रविधि मन्त्रालयको भवन आसपास सागसब्जी र लटरम्म टमाटर फलेका हुन्थेँ। राणाको पालादेखि नै सिंहदरबारमा खेतीकिसानी हुन्थ्यो। ४२ सालतिर बम काण्ड भएपछि भने अलिक कडाइ भयो तर पनि रोकतोक नै भन्ने त थिएन। अब अहिले सिंहदरबार छेउको बाटो समेत हिँड्न रोक लगाउन बेर छैन।
त्यतिबेला काठमाडौंको जनसंस्था यति धेरै पनि थिएन। घरहरू सीमित ठाउँमा झुरुप्प थिए। समय बदलिएर पनि होला कडाइ भएको। अर्को कुरा त्यतिबेला एउटा गेट मात्रै थियो। अहिले पो तीन तिर छ त!
दीप श्रेष्ठसँग काम गर्ने अवसर जुर्यो
दीप श्रेष्ठको गीतसंगीतको प्रतिको लगाव नै छुट्टै थियो। उहाँसँग ४० वर्षअघि चिनजान भए पनि गीतमार्फत सहकार्य भने गतवर्ष मात्रै भयो।
उहाँ कुनै गीतमा भोकल दिनु छ भने एक हप्तादेखि धेरै खानेकुरा बार्नुहुन्थ्यो। साथीभाइ भेटेर केही खाउँ भन्दा उहाँ मान्नुहुँदैनथ्यो।
‘म अहिले खान्न, एउटा गीत गर्दैछु, त्यसका लागि एक डेढ हप्ता बन्द’ भन्नुहुन्थ्यो। त्यो लगाव अहिले पनि छ उहाँमा। पोहोर साल मेरो एउटा गीत रेकर्ड गर्दाको समयमा उहाँले त्यस्तै गर्नुभयो।
त्यतिबेलाका कलाकारहरू गीतको गहिराइ बुझेर, गीतलाई कतिको न्याय दिन सकिन्छ भन्ने तर्फ लाग्नु हुन्थ्यो। त्यतिबेलाका गीतकार, संगीतकार गायकहरूबीच भएको आत्मियता अहिले छैन जस्तो लाग्छ।
नारायण गोपालसँग डर लाग्थ्यो
त्यतिबेला अधिकांश कलाकारहरूको भेटघाट हुने भनेको रेडियो नेपाल थियो। भक्तराज आचार्य, अरुणा लामा, तारादेवी, नारायण गोपाल सबैसँग मेरो राम्रो चिनजान थियो।
भक्तराज आचार्यले त मेरो गीतसमेत गाउनुभएको छ। उहाँ प्रष्ट वक्ता हुनुहुन्थ्यो। घुमाएर कुरा गर्नुहुँदैनथ्यो। थाहा छैन किन हो कुन्नी, उहाँले मलाई असाध्यै माया गर्नुहुन्थ्यो। उहाँ रेडियो नेपालमा नै जागिरे हुनुहुन्थ्यो।
एक दिन मैले चिया खाने क्रममा ‘ए दाइ, मेरो पनि गीत गाइदिनु न!’ भने। उहाँले ‘ल ल गाउने, खै लेउ’ भन्नुभयो। प्रकाश गुरुङको संगीतमा उहाँले ‘मायाको परिवेश भित्र’ बोलको गीत गाउनुभयो।
तारादेवी र अरुणा लामासँग पनि गीत रेकर्ड गराउने चर्चा थियो। हुन्छ त भनियो तर गरिएन। त्यो समय मौका पाउँदा गीत रेकर्ड नगराएकोमा अहिले पनि मलाई पछुतो लाग्छ।
नारायण गोपालसँग चाहीँ एकदमै डर लाग्थ्यो। उहाँको इमेज नै त्यस्तै थियो। त्यतिबेलै उहाँ डरलाग्दो हुनुहुन्छ भन्ने इमेज थियो। उहाँसँग कला क्षेत्रका अधिकांश मानिस डराउँथे।
उहाँसँग मेरो रेडियो नेपालमा नै भेट भएको हो। चिनजान बढ्यो। श्री पुरुष ढकाल र म उहाँको घरमा पनि गएका छौँ। नारायण दाइलाई म एकदमै चुजी गायकको रुपमा चिन्छु। उहाँ जुन पायो त्यहि गीत गाउनुहुँदैनथ्यो।
उहाँको घर जाँदा ठूलो आँटले ‘दाइ, मेरो पनि गीत रेकर्ड गराउनुपर्ने, के छ?’ भनेर सोधेँ। उहाँले ‘ल हुन्छ नि त, शब्दहरू लिएर आउ’ भन्नुभएको थियो। पछि त्यतिकै भयो। मेरो गीत रेकर्ड गर्ने भन्दा–भन्दै उहाँको निधन भयो। उहाँसँग पनि सहकार्य गर्ने अवसर जुरेन।
तारा दिदीको घर यहाँ नजिकै नै हो। दिदीसँग नजिक भएकाले उहाँका छोराहरूलाई म भाइ नै भन्छु। उहाँसँग पनि त्यस्तै भयो, गीत रेकर्ड गर्ने मेसो मिलेन।
साउन ३१, २०८१ बिहीबार ११:१७:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।