बन्चरो हानेर श्रीमतीको हत्या, शव टुक्रा-टुक्रा पारेर वनमा गाडेको अवस्थामा भेटियो

बन्चरो हानेर श्रीमतीको हत्या, शव टुक्रा-टुक्रा पारेर वनमा गाडेको अवस्थामा भेटियो
सांकेतिक तस्बिर

मकवानपुर : श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्।

मकवानपुर कैलाश गाउँपालिका-५ कालीखोलास्थित काफलडाँडा बस्ने २६ वर्षीय मङ्गलबहादुर पाख्रिन पक्राउ परेका हुन्।

यही साउन २८ गते साँझ मङ्गलबहादुरले २० वर्षीया श्रीमती लक्ष्मी पाख्रिनको हत्या गरी कालीखोलास्थित सामुदायिक वनमा गाडेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार मङ्गलबहादुरले श्रीमती लक्ष्मीलाई आफ्नै घरभित्र बन्चरो प्रहार गरी हत्या गरेको र शवलाई टुक्रा पारेर दुई वटा बोरामा हाली कालीखोलास्थित सामुदायिक वनमा गाडेका थिए।

घटनामा प्रयोग भएको धारिलो हतियार बञ्चरोको बिड फुकाली घरभन्दा पूर्वतर्फ खाल्डो खनी गाडेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ।

खाल्टोमा गाडेको शव, घटनामा प्रयोग भएको हतियार बन्चरो र कपडा खाल्डोबाट निकाली पाख्रिनलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए।

पक्राउ परेका उनीमाथि मकवानपुर जिल्ला अदालत हेटौंडाबाट १० दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ।

साउन ३०, २०८१ बिहीबार १०:३४:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।