अफ्रिकामा मन्कीपक्स फैलिएपछि विश्व स्वास्थ्य संगठनद्वारा सार्वजनिक स्वास्थ्य इमर्जेन्सी घोषणा

एजेन्सी : अफ्रिकाका केही भागमा एमपोक्स अर्थात मन्कीपक्स रोग फैलिएपछि विश्व स्वास्थ्य संगठनले सार्वजनिक स्वास्थ्य इमर्जेन्सी घोषणा गरेको छ।
संस्थाले यो रोगलाई अन्तर्राष्ट्रिय चासोको विषयको रुपमा समेत व्याख्या गरेको छ। एमपोक्स एक संक्रामक रोग हो।
अफ्रिकी देश कंगोमा यो रोगबाट प्रारम्भिक चरणमा ४५० भन्दा बढीले ज्यान गुमाएका छन्। अहिले यो रोग मध्य र पूर्वी अफ्रिकामा तीव्र गतिमा फैलिरहेको छ।
वैज्ञानिकहरूले पनि रोगको द्रुत रूपमा फैलिरहेको नयाँ प्रकार र उच्च मृत्यु दरमा आफ्नो चिन्ता व्यक्त गरेका छन्।
डब्लूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले अफ्रिका र त्यसभन्दा बाहिर पनि यो रोग फैलिने सम्भावनाप्रति चिन्ता व्यक्त गरेका छन्।
उनले भने, ‘अन्तर्राष्ट्रिय सहयोगले मात्र यो रोग रोक्न सकिन्छ र जनताको जीवन बचाउन सकिन्छ।’
एमपोक्स संक्रमित व्यक्तिहरूको नजिक हुँदा फैलनसक्छ। यो रोगमा ज्वरो र रुघाखोकी जस्ता लक्षण देखिन्छन् भने बिरामीहरूको छालामा घाउहरू पनि हुन सक्छन्।
यस रोगबाट पीडित १०० मध्ये चार जनाको मृत्यु हुन्छ।
साउन ३१, २०८१ बिहीबार ०९:५७:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।