१ अर्ब ३० करोडले घट्यो नेपाल टेलिकमको खुद नाफा
काठमाडौं : नेपाल टेलिकमको मुनाफा घटेको छ।
गत आर्थिक वर्षको तुलनामा कम्पनीको कम्पनीको मुनाफामा १६.४४ प्रतिशतले कमी आएको कम्पनीद्वारा जारी वित्तीय विवरणमा उल्लेख छ।
कम्पनीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा खुद मुनाफा ६ अर्ब ६१ करोड ७७ लाख ७६ हजार रहेकोमा आर्थिक वर्ष २०७९/८० मा मुनाफा ७ अर्ब ९२ करोड १ लाख ५५ हजार रुपैयाँ थियो।
यो गत आर्थिक वर्षको तुलनामा १ अर्ब ३० करोड २३ लाख ७८ हजारले कम हो।
यस्तै, गत आर्थिक वर्षको तुलनामा यस वर्ष टेलिकमको २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ आम्दानी घटेको छ।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा ४१ अर्ब ६१ करोड ७१ लाख १7 हजार आम्दानी गर्दा आर्थिक वर्ष २०७९/८० मा ४४ अर्ब ४२ करोड ३६ लाख १८ हजार रुपैयाँ आम्दानी गरेको थियो।
कम्पनीको कुल सञ्चालन आयमा भने यसपटक गत वर्षभन्दा कमी आएको छ। आर्थिक वर्ष २०८०/८१ मा ३४ अर्ब ४६ करोड ११ लाख ३५ हजार रहेको कम्पनीको आए गत वर्षको सोही अवधिमा ३६ अर्ब २७ करोड १४ लाख ५० हजार रुपैयाँ थियो। यो गत वर्षको तुलनामा १ अर्ब ८१ करोड ३ लाख १५ हजार रुपैयाँले कम हो।
यसरी कम्पनीको प्रति शेयर आम्दानी ३६.७७ रुपैयाँ रहेको छ।
ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तर्राष्ट्रिय सेवाको तथा अन्तरआवद्धता आयमा गत आर्थिक वर्षको तुलनामा करिब १ अर्ब ४३ करोड ८४ लाख ४८ हजारले कमी हुँदा आम्दानी घटेको कम्पनीको विश्लेषण छ।
यसका अलावा राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको, सेवाको दररेट निर्धारण सम्बन्धि नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकूल असर परेको कम्पनीले जनाएको छ।
सेवा सञ्चालनको लागि आवश्यक ब्याण्डविथ विगत वर्ष भन्दा कम दरमा खरिद गरिएको कारण सेवा सञ्चालन खर्चमा कमी आएको जनाएको छ।
साउन ३१, २०८१ बिहीबार ०८:४९:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।