चिकित्सा शिक्षा आयोगले योग्यता नपुगेका विद्यार्थीको शुल्क फिर्ता गर्ने

चिकित्सा शिक्षा आयोगले योग्यता नपुगेका विद्यार्थीको शुल्क फिर्ता गर्ने

काठमाडौं : चिकित्सा शिक्षा आयोगले एकीकृत परीक्षाका लागि योग्यता नपुगेका विद्यार्थीको परीक्षा शुल्क फिर्ता गर्ने भएको छ। 
      
आयोगको आज बसेको कार्यकारी समितिको बैठकले योग्यता पुगेका उम्मेदवारलाई प्रवेशपत्र जारी गरी परीक्षामा सामेल गराउने र तोकिएको न्यूनतम् शैक्षिक योग्यता पूरा नगरेका आवदेकको आवेदन फाराम रद्द गरी परीक्षा शुल्क फिर्ता गर्ने निर्णय गरिएको आयोगका उपसचिव मञ्जु अधिकारीले जानकारी दिए। 

उनले शैक्षिक योग्यता नपुगेका आवेदकले फाराम भर्दा बुझाएको परीक्षा दस्तुर रकम आयोगमा दाखिला गरेको प्रमाणसहित फिर्ता माग गरेमा उक्त रकम सम्बन्धित परीक्षार्थीलाई फिर्ता गरिने बताए। 

आयोगले चिकित्सा शिक्षा स्नातक तहको विभिन्न शैक्षिक कार्यक्रमका लागि कक्षा १२ को नतिजा प्रकाशन नभए पनि फाराम भराएको थियो। 

यसअघि फाराम भरेका तर पछि कक्षा १२ को नतिजामा योग्यता नपुगेका परीक्षार्थीको फाराम शुल्क फिर्ता गरिने प्रचलन थिएन तर, शिक्षामन्त्री विद्या भट्टराईको निर्देशनपछि आयोगले विद्यार्थीको शुल्क फिर्ता गर्ने निर्णय गरेको जनाएको छ। 

आयोगले चिकित्सा शिक्षा स्नातक तह तर्फका विभिन्न विषयमा गत जेठमा आवेदन दिएका उम्मेदवारको यही भदौ १ देखि भदौ ५ सम्म परीक्षा सञ्चालन गर्दैछ।  

साउन २९, २०८१ बुधबार २१:४८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।