माओवादी आन्दोलनलाई 'हिंसात्मक द्वन्द्व' भनेका ओली प्रचण्ड रिसाएपछि सच्चिए, लेखे- 'सशस्त्र द्वन्द्व'

माओवादी आन्दोलनलाई 'हिंसात्मक द्वन्द्व' भनेका ओली प्रचण्ड रिसाएपछि सच्चिए, लेखे- 'सशस्त्र द्वन्द्व'

काठमाडौं : बुधबारको प्रतिनिधि सभा बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी सशस्त्र द्वन्द्वलाई 'जनयुद्ध' नभनेको भन्दै नेताहरूसँग असन्तुष्टि जनाएपछि प्रधानमन्त्री केपी ओली सच्चिएका छन्। 

गत साउन २३ मा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्डसमक्ष सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने विषयमा कार्यदलले प्रतिवेदन बुझाएको थियो। त्यहीदिन प्रधानमन्त्री ओलीले फेसबुकमार्फत माओवादी सशस्त्र द्वन्द्वलाई 'हिंसात्मक द्वन्द्व' भनेका थिए। 

उनले लेखेका थिए, 'हिंसात्मक द्वन्द्वलाई अन्त्य गरी वृहत् शान्ति सम्झौता भएको १८ वर्षपछि संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा आज मुख्य दलहरूबीच सहमति भएको छ।'

त्यसलगत्तै माओवादीजनबाट ओलीको चर्को आलोचना भएको थियो। त्यो क्रम बुधबारको संसद बैठकमा पनि रह्यो। 

प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ माथिको छलफलमा बोल्दै प्रचण्डले हिंसात्मक द्वन्द्व भनि सम्बोधन गरिएकोमा प्रचण्डको आपत्ति जनाए। 

उनले भने, 'अहिले पनि नेताहरू बोल्दा हिंसात्मक द्वन्द्व भन्ने गर्नुहुन्छ। माओवादी जनयुद्ध शब्द प्रयोग गर्यो भने जातै जाला जस्तै गर्नुहुन्छ।'

उनले आफूअघि बोलेका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवालाई संकेत गर्दै थपे, 'जबकी संविधानसभाबाट माओवादी जनयुद्ध भनेर लेखिएको छ।'

त्यसपछि एमाले अध्यक्षसमेत रहेका ओलीले बुधबार साँझ फेसबुकबाटै पछिल्लो अभिव्यक्तिलाई सच्याउँदै माओवादी विद्रोहलाई सशस्त्र द्वन्द्वको संज्ञा दिए। 

'लामो समयसम्म हाम्रो समाजले सशस्त्र द्वन्द्व भोग्यो। त्यस दौरानमा कयौंको ज्यान गयो, कयौं बेपत्ता भए, कयौंका अङ्गभङ्ग भए। त्यस द्वन्द्वलाई अन्तिम टुङ्गोमा पुर्याउने काम आज प्रतिनिधिसभाको बैठकले गरेको छ, उनले लेखेका छन्। 

साउन २९, २०८१ बुधबार २१:४१:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।