७५ हजार आगन्तुकलाई आकर्षित गर्ने लक्ष्यसहित 'नाडा अटो शो २०२४' हुँदै
काठमाडौं : नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यस वर्षको प्रमुख अटोमोबाइल प्रदर्शनी टाटा इभी प्रस्तुत नाडा अटो शो २०२४ आयोजना गर्ने भएको छ।
कार्यक्रम अगस्ट २७ देखि सेप्टेम्बर १ सम्म काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी स्थलमा आयोजना हुने बताइएको छ।
यस वर्ष टाटा ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड सह–प्रायोजकको रुपमा रहेको छ। प्रदर्शनीमा २४ चार पाङ्ग्रे ब्रान्डहरु, १९ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिनेछ।
त्यस्तै, ३३ कम्पनी जुन लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा विशेषज्ञ छन्। ७ वित्तीय संस्थाहरू विशेष रुपले अनुकूल वित्तीय समाधानहरू प्रदान गर्नेछन्। शोमा जम्मा ९५ प्रदर्शकहरू सहभागी हुनेछन्, जसले १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्ने आयोजकले जनाएको छ।
शोमा हिरो जुम स्कूटरले प्रतीक्षित डोर प्राइज प्रदान गर्नेछ भने खल्ली टिकेटिङ पार्टनरको रूपमा रहनेछ। वल्र्डलिंक आधिकारिक इन्टरनेट पार्टनर हुनेछ, हिट्को प्रालिले फायर सेफ्टी समर्थन प्रदान गर्नेछ भने सीसीटीभी नेपालले सम्पूर्ण आगन्तुकहरूको सुरक्षाका लागि निगरानी गर्नेछ।
टाटा ईभी प्रस्तुत नाडा अटो शो २०२४ले ६ दिनको अवधिमा करिब ७५ हजार आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरेको छ।
साउन ३०, २०८१ बुधबार १९:३५:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।