सरकारी अस्पतालहरूमा हुने भीडलाई घटाउन अनलाइन प्रणालीबाट काम गर्नुपर्छ : स्वास्थ्यमन्त्री
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सीमित स्रोत र साधनभित्र रहेर अधिकतम परिणाम ल्याउनुपर्ने अवस्था रहेको बताएका छन्।
बुधबार कान्ति बाल अस्पतालको बाल मनोचिकित्सा र मानसिक स्वास्थ्य इकाइको निरीक्षण गर्दै उनले नेपालको बालबालिकालाई राम्रो उपचार दिने सरकारी अस्पतालमा बालकान्ति मात्र भएको भन्दै यसलाई प्रभावकारी बनाउने कुरामा सहकार्य गर्न आवश्यक रहेको बताए।
उनले भने, ‘सीमित स्रोत र साधनभित्र हामीले अधिकतम परिणाम ल्याउनुपर्ने अवस्था छ। नेपालको बालबालिकालाई राम्रो उपचार दिने सरकारी अस्पतालमा यो अस्पताल मात्रै हो, त्यसकारण यसलाई प्रभावकारी बनाउने कुरामा हामीले सहकार्य गर्न आवश्यक छ।’
मन्त्री पौडेलले पुरानै काम नयाँ तरिकाबाट कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल गर्न आवश्यक रहेको भन्दै अनलाईनबाट सेवा दिने व्यवस्था भए सहज वातावरण सिर्जना हुने बताए।
उनले भने, ‘सरकारी अस्पतालहरूमा हुने भिड, लाइनलाई घटाउनको लागि हामीले भनेको अनलाईन प्रणालीबाट काम अगाडि बढाउनुपर्छ। अनलाइनबाट सेवा दिने व्यवस्था गर्ने हो भने पनि सहज वातावरण सिर्जना हुन्छ। समय तोकिएको टोकनको पनि व्यवस्था गर्न सकियो भने राम्रो हुन्छ।’
बिमालाई व्यवस्थित गर्न सकेमात्र स्वास्थ्य सेवा सहज र सरल बन्नसक्ने भन्दै यसमा सबैको सहयोगको अपेक्षा गरेको पनि उनको भनाई छ।
साउन ३०, २०८१ बुधबार १९:२७:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।