'प्रधानमन्त्री ओलीले नै दलितहरूमाथि जातीय विभेद गरिरहेका छन्'

'प्रधानमन्त्री ओलीले नै दलितहरूमाथि जातीय विभेद गरिरहेका छन्'

काठमाडौं : दलित अभियन्ताहरूले सरकार गठन र राजनीतिक नियुक्तिमा दलितलाई उपेक्षा गरेको भन्दै हातखुट्टामा नेल लगाएर प्रदर्शनमा छन्। 

दलितका लागि दलित अभियान नेपालको समन्वयमा अभियानका संयोजक खगेन्द्र सुनारसहितका युवाहरूले विगत सात दिनदेखि माइतीघरमा विरोध प्रदर्शन गरिरहेका छन्। 

संविधानको व्यवस्था र सामाजिक न्यायको सिद्धान्तबमोजिम दलितको राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनीहरुको माग रहेको छ।

अभियानका संयोजक सुनारले प्रधानमन्त्री केपी शर्मा ओलीले दलितहरूलाई जातीय विभेद गरेको आरोप लगाए। 

उनले भने, ‘आजको दिनमा पनि जुन तरिकाले दलितहरुमाथि सरकार निर्मम भयो, केपी ओलीले जातीय घृणा र अपमान फैलाइरहेका छन्। केपी ओलीले दलितहरूलाई जातीय विभेद गरेका छन्। दलितलाई जे गरेपनि हुन्छ भन्ने मान्यता राखेको थियो, तर त्यस्तो होइन।’ 

त्यसअघि संसद भवन प्रवेश गर्न खोजेको भन्दै सुनारलाई मंगलबार पक्राउ गरिएको थियो। त्यसपछि प्रहरीले बुधबार उनलाई रिहा गरेपनि उनी आन्दोलनमै छन्। 

संवैधानिक हक बमोजिम राज्यका निकायहरूमा दलित समुदायको प्रतिनिधित्व नदिइएको भन्दै सुनारसहितका अभियन्ताहरूले गएको शनिबार ‘दलितलाई मन्त्री खै?’, ‘दलितलाई बजेट खै?’, ‘दलितलाई राजदूत खै?’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।  

साउन २९, २०८१ बुधबार १८:२०:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।