शान्ति सम्झौताको १८ वर्षपछि संसद्बाट पारित भयो टीआरसी विधेयक

शान्ति सम्झौताको १८ वर्षपछि संसद्बाट पारित भयो टीआरसी विधेयक

काठमाडौं : सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) प्रतिनिधि सभाबाट पारित भएको छ।
       
बुधबारको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो) संशोधन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी राखेको प्रस्ताव बहुमतबाट पारित भएको हो।

बैठकमा शीर्ष नेताहरूको सम्बोधन र दलीय आधारमा छलफल भएको थियो। 

विधेयक २०७९ फागुन २५ मा संसद्मा दर्ता भएको थियो। ०८० वैशाख ५ मा संसद्को कानुन समितिमा पठाएको थियो। 

त्यसपछि गत मंगलबार कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवदीले विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गरेकी थिइन्। र, समितिले गत साउन २४ मा सर्वसम्मत पारित गर्यो। 

प्रतिनिधि सभाबाट पास भएपछि अब विधेयक राष्ट्रिय सभामा जानेछ।

राष्ट्रिय सभाबाट पारित भएर पुनः प्रतिनिधि सभामा आउँछ र सभामुखबाट प्रमाणित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुग्छ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानून बन्नेछ।

२०६३ मंसिर ५ मा तत्कालीन माओवादी र सरकारबीच दश वर्षे माओवादी विद्रोहलाई अन्त्य गरेको घोषणा गर्दै शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो। सम्झौतामा तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्रमा हस्ताक्षर गरेका थिए। 

साउन २९, २०८१ बुधबार १८:०३:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।