जबजब माधव नेपाल संसद्मा बोल्छन्, सुन्नै सक्दैनन् ओली, बाहिर निस्किहाल्छन्!

जबजब माधव नेपाल संसद्मा बोल्छन्, सुन्नै सक्दैनन् ओली, बाहिर निस्किहाल्छन्!

काठमाडौं : बुधबारको प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ माथिको छलफल चलिरहेको थियो। दलीय आधारमा सांसदहरूले आफ्नो कुरा राखिरहेकै थिए। 

तर, जब एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बोल्ने समय आयो, प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली बाहिर निस्किए। 

संसद्को छैठौं ठूलो दलको हसियतमा बोल्दै नेपालले तत्कालीन एमालेका नेता केपी शर्मा ओलीले माओवादीसँग वार्ता गर्नेहरूलाई कारबाही गर्नुपर्छ भन्ने प्रस्ताव ल्याएको बताए। उनले यसो भन्दै ओली त्यहाँ थिएनन्। 

नेपालले भनेका थिए, '...लखनउमा कुराकानी गरेर फर्किएर वामदेव गौतम र युवराज ज्ञवालीलाई खटाइएको हो। त्यसरी वार्ता गर्नेलाई कारबाही गर्नुपर्छ भन्ने हाम्रो पार्टीभित्र अरू कोही होइन अहिलेका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो।'

उनले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने कुरा गर्दैगर्दा ६३ हजारभन्दा बढी मुद्दा दर्ता भएको भन्दै गम्भीर अपराध ठानिएका केसलाई कसरी लिने, कसरी पीडितलाई न्याय दिने भनेर सोच्नुपर्ने बताए। 

उनले १२ बुँदे सहमतिका सवालमा कतिपयले भारतले गराएको भनेर भन्ने गरेपनि त्यसमा सत्यता नभएको दाबी समेत गरे।

‘साना दुःखले ल्याएको शान्ति प्रक्रिया होइन। मन सफा हुनुपर्छ, देश र जनताको माया हुनुपर्छ’, उनले भने, ‘जब शान्ति प्रक्रियामा हस्ताक्षर भयो त्यसमा हामी सहभागी भएकालाई पनि साक्षी राख्नुस् भन्दा सानो चित्त भएकाले राखेनन्।’ त्यसपछि आफू रिसाएको अनि गिरीजाबाबु र प्रचण्डले बोलाएपछिमात्र सहभागी भएको उनले सम्झिए। 

यसअघि गएको साउन ६ को प्रतिनिधि सभा बैठकमा ओलीले मागेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिने क्रममा अध्यक्ष नेपालले ओलीलाई औपचारिक बधाई दिएका थिए। तर, माधव नेपालले औपचारिक रुपमा बधाई दिइरहँदा ओली भने संसद्मा उपस्थित थिएनन्।

‘सर्वप्रथम प्रधानमन्त्री ओलीलाई औपचारिक बधाई। आज विश्वासको मत मागिरहनुभएको छ, तर संसद्बाट बेपत्ता हुनुहुन्छ। आजको सदनमा पूरा समय सुन्ने। सबैका कुरा सुन्ने धैर्यता राख्नु पर्छ,’ आइतबार प्रतिनिधि सभाको बैठकमा नेपालले भनेका थिए।

त्यसबेला ओलीले शपथ लिएको दिन पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपाल राष्ट्रपति कार्यालय गएका थिएनन्। 

एमालेबाट विभाजन भएर एकीकृत समाजवादी गठन गरेपछि ओली-नेपालको सम्बन्धमा चिसोपन छ। त्यसयता यी दुई नेताबीच राम्रोसँग बोलचाल समेत नहुने देखि सार्वजनिक रूपमै गालीगलौजमा उत्रिनेसमेतका कार्य भएका छन्। 

साउन २९, २०८१ बुधबार १६:३५:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।