देउता रिसाउने डरले जहाँका किसान दूध नै बेच्दैनन्, गाउँपालिकाले दिन्छ गोठालो भत्ता
कालिकोट : कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा एक घर एक गाईभैँसी अनिवार्य पाल्ने चलन बिस्तारै बढ्दैछ। परम्परादेखि नै एउटा घरमा एउटा गाई वा भैँसी अनिवार्य पाल्ने गरिएको थियो। तर बिचमा अन्य पेसा व्यवसायतर्फ लागेका किसान पुनः पशुपालनतर्फ आकर्षित गर्ने प्रयास जारी छ।
गाउँपालिकामा तीन हजार नौ सय १० घरपरिवार छन्। राष्ट्रिय तथ्याङ्क विभागको कृषि गणना २०७८ अनुसार गाउँपालिकामा पशुपालन गर्ने तीन हजार सात सय ९५ घरपरिवार छन् । गाउँपालिकाभित्र गाई, गोरुको सङ्ख्या चार हजार चार सय ३६ र राँगा, भैँसीको सङ्ख्या चार हजार दुई सय १० छ।
नरहरिनाथ गाउँपालिकाका कोटवाडा, लालु, माल्कोट, कुमालगाउँ र रुप्सा गाउँमा प्रत्येक घरमा एउटा गाई वा भैँसी अनिवार्य पाल्ने चलन परापूर्वकालदेखिको चलन हो। गाउँपालिकाको प्रायः सबै घरपरिवारमा दुग्धजन्य पशुपालन हुने गरेको भए पनि यहाँ दूध दहीको बिक्री भने नभएको नरहरिनाथ गाउँपालिका–९ लालुका ७० वर्षीया पदमसिंह रावलले बताए।
‘विगतका दूध बिक्री गरेमा देवता रिसाउँछन् भन्ने आम मान्यताका कारणले दूध र दही बिक्री गर्ने चलन थिएन,’ उनले भने, ‘अहिले गाउँमा बजार बने पनि कसैले दूध दही हुन्छ बिक्री गर्न लैजाँदैनन्’।
स्थानीय किसानहरू गाई भैँसीको दूधबाट घ्यू बनाएर बिक्रीका लागि टाढाको बजारमा पुग्ने गर्दछन्। अहिले गाउँ गाउँमा नै यातायातको सुविधा पुगेपछि घ्यू बिक्री गर्न समस्या नभएको स्थानीयवासी कटबहादुर विष्टले बताए।
गाई भैँसीको घ्यू बेचेर राम्रो आम्दानी लिने गरेको नरहरिनाथ गाउँपालिका–९ लालुका ७२ वर्षीया गज सार्कीले बताए। पहिले आफूले १० वटासम्म भैँसी पालेको र ती भैँसीबाट वर्षमा एक क्विन्टलसम्म घ्यू बनाएर नेपालगन्ज, बर्दिया र कैलालीको बजारमा बेच्न लिएर गएको उनले सम्झिए। उनले भने ‘अहिले त एउटा भैँसी पालेको छु। छोराछोरी रोजगारीका लागि बाहिर छन् । घरमा नै दूध दही खान ठिक्क हुन्छ। घ्यू बनाउने चलन नै हरायो।’
पशुपालनतर्फ घट्दो आकर्षण
प्रायः यहाँका सबै घरमा चार वटाभन्दा बढी गाईभैँसी पाल्ने गरेकामा अहिले धेरैले पाल्न छाडेका छन्। चरन क्षेत्रको अभाव, पशुपालनप्रति घट्दो आकर्षण र अधिकांश गाउँका युवा रोजगारीका लागि अन्य पेसा व्यवसाय तथा विदेश जाँदा गाईभैँसी पाल्ने चलन कम हुँदै गएको देखिन्छ।
नरहरिनाथ गाउँपालिका–५ रुप्साका पर्से सहकारीका अनुसार आम्दानीका अन्य स्रोत खोज्न थालेको र भैँसीलाई खुवाउने घाँसको अभाव र चरिचरन क्षेत्र नहुँदा पशुपालन घटेको छ। युवाहरू रोजगारीका देश तथा विदेश गएका कारणले अहिले गाईभैँसी एकदुईवटा मात्र पाल्ने गरिएको उनले बताए।
किसानलाई गोठालो भत्ता दिन सुरु
किसानलाई पशुपालनमा आकर्षित गराउन गाउँपालिकाले गोठालो भत्ता दिन सुरु गरेको छ। आर्थिक वर्ष २०८०-८१ मा गाउँपालिकाले ‘कृषकसँग उपाध्यक्ष कार्यक्रम’बाट किसानलाई गोठालो भत्ता दिन थालेको गाउँपालिकाका उपाध्यक्ष कमलबहादुर शाहले बताए।
गोठालो भत्ता कार्यक्रमअन्तर्गत किसानले मासिक एक हजार पाउँछन्। उनका अनुसार किसानलाई पशुपालनमा प्रोत्साहित गर्न गोठालो भत्तास्वरुप आर्थिक वर्ष २०८०-८१ मा १० लाख गाई भैँसी पाल्ने किसानलाई भत्ता वितरण गरिएको थियो।
गोठालो भत्ताका लागि पालिकाले मापदण्ड बनाएको छ । सो मापदण्ड पूरा गरेका एक सय ३९ जना किसानलाई प्रोत्साहन भत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
दुग्ध सङ्कलन केन्द्र स्थापना गरिने
किसानलाई आफूले उत्पादन गरेको दूध बिक्री गर्न सहज बनाउन गाउँपालिकाले दूध सङ्कलन केन्द्र स्थापना गर्न लागेको छ। गाउँपालिकामा उत्पादन हुने दूधलाई बाहिर निर्यात गर्नका लागि गाउँपालिकाले दूध सङ्कलन केन्द्र स्थापना गर्न लागेको उपाध्यक्ष शाहले बताए।
‘दूध सङ्कलन गरेर जिल्लाका अन्य बजार तथा जुम्ला र सुर्खेतसम्म निर्यात गर्ने लक्ष्य राखेका छौँ,” उनले भने ,‘यसका लागि गाउँमै दूध सङ्कलन केन्द्र स्थापना गर्दैछौँ।’
दूध बिक्रीका लागि पहिलो चरणमा जुम्लाको हिमा गाउँपालिकासँग सम्झौता भएको उपाध्यक्ष शाहले बताए।
भैँसी पालन बढाउन पकेट क्षेत्र घोषणा
नरहरिनाथ गाउँपालिकाले गाई, भैँसी पालनलाई बढाउनका लागि भैँसी पकेट क्षेत्र घोषणा गरेको छ। गाउँपालिका–४ र ५ को रुप्सा गाउँलाई भैँसी पकेट क्षेत्र बनाउन लागेको हो।
पशुपालन व्यवसायलाई थप गुणस्तरीय र उत्पादनमुखी बनाउनका लागि वडा नं ४ र ५ को रुप्सा गाउँलाई भैँसी पकेट क्षेत्र घोषणा गरिएको गाउँपालिका उपाध्यक्ष शाहले बताए।
-मिमबहादुर रावल / रासस
साउन २९, २०८१ बुधबार १६:१७:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।