समानुपातिकमा सिटमा नाता र दातालाई ल्याउने काम बन्द गर्न खतिवडाको माग

समानुपातिकमा सिटमा नाता र दातालाई ल्याउने काम बन्द गर्न खतिवडाको माग

काठमाडौँ : प्रतिनिधिसभा, राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले समानुपातिक तथा समावेशी सिद्धान्तको मर्म र भावना विपरीत भएका अभ्यासमा सुधार गर्नुपर्ने बताए।

नेपाल मतदाता अधिकार मञ्चले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको प्रस्तावित विधेयकमाथि सुझावसहितको ध्यानाकर्षण पत्र लिँदै उनले समानुपातिक निर्वाचन प्रणाली नेताको विवेकमा नभई नीति र पद्धतिमा चल्ने प्रणाली स्थापित गर्नु आजको आवश्यकता भएको बताए।

‘समानुपातिक र समावेशीसम्बन्धी विषय अब नेपालबाट टाढा जान सक्दैन। जान पनि हुन्न। राजनीतिलाई स्थिरता दिएर देशलाई बलियो बनाउनेतर्फ लाग्नुपर्छ”, खतिवडाले भने ‘राज्यको मूलधारबाट पछि परेकालाई समेट्नुपर्ने सिटमा नाता र दातालाई ल्याउने काम बन्द गरिनुपर्छ।’

संविधानले परिकल्पना गरेअनुरूप महिला, पिछडिएका वर्ग र समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउनुपर्नेमा उनले जोड दिएका थिए। खतिवडाले पहुँच र प्रभावका  आधारमा एउटै व्यक्तिलाई धेरै पटक समानुपातिक प्रणालीमा ल्याइँदा त्यही समुदायको अर्को व्यक्ति मारमा पर्ने पक्षलाई हेक्का राख्न जरुरी रहेको बताए।

निर्वाचनसम्बन्धी प्रस्तावित विधेयक समितिमा आएपछि सरोकारवालासँग गहन र व्यापक छलफल हुने उल्लेख गर्दै उनले समानुपातिक प्रणाली वास्तवमै राज्यको पहुँच र मूलधारबाट छुटेकालाई समेट्ने प्रणाली भएको बताए।

मञ्चलगायत २३ सङ्घ संस्थाका प्रतिनिधिले नेपालमा निर्वाचन सुधार पहलका लागि ‘जसको जति सङ्ख्या भार उसको त्यति उम्मेदवार’ मूल नारासहित राष्ट्रिय अभियान सञ्चालन गर्दै आएको जानकारी दिएका थिए।

साउन २९, २०८१ बुधबार १५:४६:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।