आइएमई लिमिटेडको अध्यक्षमा हेमराज, ख्याति र पहिचानलाई कायम राख्ने प्रतिवद्धता
काठमाडौँ : आइएमई लिमिटेड र जिएमई रेमिट प्रालि मिलेर बनेको आइएमइ लिमिटेडको अध्यक्षमा हेमराज ढकाल नियुक्त भएका छन्। बुधवार दुवै कम्पनी मर्ज भएर बनेको लिमिटेडमा ढकाल अध्यक्ष भएका हुन्। चन्द्र ढकालले अध्यक्ष पद छाडेपछि हेमराज नियुक्त भएका हुन्।
संयुक्त कारोबार सुरु भएको कार्यक्रममा बोल्दै हेमराज ढकालले सन् २००१ मा मलेसियाबाट आइएमईको सेवा सुरुवात गरेपछि सन् २०१७ मा कोरियाबाट जिएमइको सेवा सुरुवात गरेको बताए।
दुवै संस्थालाई मर्ज गरी एकीकृत कारोबार प्रारम्भ भएकोमा खुसी व्यक्त गर्दै उनले देश राजनीतिक तथा आर्थिक रूपान्तरणको क्रममा रहेको र जताततै अन्योल रहेको बेलामा दुवै कम्पनीको सुरुवात भएको बताए।
उनले नेपालको अर्थतन्त्रमा रेमिटेन्सले महत्त्वपूर्ण टेवा पुर्याउँदै आएको र विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत मात्र नभई बाह्य अर्थतन्त्रको सन्तुलनमा रेमिटेन्सको योगदान उल्लेखनीय रहेको ढकालले बताए। उनले प्रविधिको विकास र बढ्दो प्रयोगसँगै रेमिटेन्सको अवधारणा नै परिवर्तन भएको र कुनै स्थिर वा भौतिक कार्यालय नभए पनि सूचना प्रविधिको प्रयोगमार्फत नेपाली युवाहरूले नेपालबाटै विश्वका विभिन्न मुलुकमा सेवा निर्यात गरेर मनग्य आम्दानी गरेर रेमिटेन्स नयाँ रूपमा आइरहेको बताए।
प्रचलित ऐन कानुन तथा नियामक निकायहरूद्धारा जारी भएका निर्देशनहरूको पूर्ण पालना गरी, संस्थागत सुशासनको मूल्य-मान्यतालाई आत्मसातगर्दै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धतालाई निरन्तरता दिनुका साथै कम्पनीले हालसम्म हासिल गरेको ख्याति र पहिचानलाई कायम राखी, गुणस्तरीय सेवामा क्रियाशील रहन कम्पनी प्रतिबद्ध रहने उनले बताए।
उनले प्रारम्भदेखि नै कम्पनीमा संलग्न रहे पनि नेतृत्वका हिसाबले बुधवारदेखि नयाँ यात्रा सुरु भएको महसुस गरेको भन्दै उनले आगामी दिनका अवसर र चुनौतीहरूमा पनि आइएमईलाई यहाँसम्म पुर्याउन आत्मबल र विश्वास दिनेहरूप्रति आभार व्यक्त गरे।
साउन २९, २०८१ बुधबार १५:२९:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।