बंगलादेशको सरकारलाई राष्ट्रसंघको आग्रह- महिला, युवा, अल्पसङ्ख्यक, आदिवासीलाई समेटेर समावेशी हुनू

बंगलादेशको सरकारलाई राष्ट्रसंघको आग्रह- महिला, युवा, अल्पसङ्ख्यक, आदिवासीलाई समेटेर समावेशी हुनू

न्युयोर्क : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बंगलादेशमा संसदीय चुनावको आह्वान गर्दै अन्तरिम सरकारलाई समावेशी हुन आग्रह गरेका छन्। 

संयुक्त राष्ट्रसंघका प्रमुखले महिला तथा अल्पसङ्ख्यक समुदायलाई निर्वाचनमा समावेश गर्न आग्रह गरे। 

'महासचिव गुटेर्रेसले अन्तरिम सरकारको समर्थनमा बंगलादेशमा शान्ति पुनःस्थापना गर्न संसदीय निर्वाचनको प्रयासलाई स्वागत गर्नुभएको छ। उहाँले महिला, युवा, अल्पसङ्ख्यक, आदिवासी समुदाय साथै सम्पूर्ण जनताको आवाजलाई ध्यानमा राख्दै समावेशीताको हरेक प्रयास जारी राख्न अन्तरिम सरकारलाई आग्रह गर्नुभयो,' महासचिवका उप-प्रवक्ता फरहान हकले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

विद्यार्थी आन्दोलन चर्किएपछि आवामी लिगकी नेतृ शेख हसिनाले अगस्ट ५ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि बंगलादेशमा मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बनेको छ। 

सरकारी जागिरका लागि आरक्षण प्रणाली अन्त्य गर्न माग गर्दै विद्यार्थीको नेतृत्वमा भएको विरोध प्रदर्शनपछि सरकार विरोधी प्रदर्शनमा परिणत भएको थियो। 

देशमा चलिरहेको हिंसाको क्रममा बेपत्ता भएका परिवारका सदस्यहरूको पोस्टर लिएर विरोध प्रदर्शन गरिरहेका अल्पसङ्ख्यक हिन्दू समुदायका सदस्य र बंगलादेशी सेनाबीच मङ्गलबार झडप भएको थियो।  

साउन २९, २०८१ बुधबार १४:४०:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।