पाँच सय महिला मिलेर सिस्नोको पाउडर र गुन्द्रुक बनाएँ तर बजार पाएनन्

पाँच सय महिला मिलेर सिस्नोको पाउडर र गुन्द्रुक बनाएँ तर बजार पाएनन्

बागलुङ : बागलुङको जैमिनी नगरपालिका–३ दमेकका महिला उद्यमीले उत्पादन गरेको सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक, आलु चिप्सलगायतका उत्पादनले बजार नपाएपछि उनीहरू निराश  छन्। उनीहरूले रुद्रताल सामाजिक महिला सहकारी संस्थामार्फत २० लाख लगानीमा गत वर्षबाट उद्योग सुरु गरेका थिए।

गाउँको उत्पादनलाई ‘प्याकेजिङ र ब्राण्डिङ’ गरी उद्यममा लागेका महिलाहरू अहिले उद्योग सञ्चालन गर्ने वा बन्द गर्ने दोधारमा देखिए। विभिन्न सरकारी सङ्घ संस्थाबाट अनुदान पाएर उत्साहित भएका उनीहरू बजार नपाएपछि अन्योलमा छन्।

सहकारीमार्फत महिलालाई आयआर्जनसँग जोड्न जैमिनी नगरपालिकाले १० लाख, प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले छ लाख, कृषि ज्ञान केन्द्रले दुई लाख ५७ हजार र गण्डकी प्रदेश सरकारले एक लाख अनुदान दिएको थियो। अनुदान पाएपछि उत्साहित भएर उनीहरू उत्पादनमा लागे तर बजार पाएनन्।

सहकारीकै भवनमा उद्योग सञ्चालन गरेका महिलाले बाँको, सिस्नो प्रशोधन गर्दै आएका छन्। रुद्रताल सामाजिक महिला सहकारीका कोषाध्यक्ष तारादेवी पुनका अनुसार पाँच सय ५० जना महिला आबद्ध भएर उत्पादनमा जुटेका थिए।    
    
सुरुमा उत्पादनले राम्रो बजार पाएको थियो। अहिले बजार नपाउँदा उत्पादित सामाग्री कुहिने समस्या भएको उनले बताइन्। सिस्नोको पाउडर एक वर्षसम्म नबिग्रिए पनि आलु चिप्स एक महिनामै खान नमिल्ने हुँदा घाटा भएको उनले बताइन्।र

नगरपालिका तथा अन्य निकायले बजारको व्यवस्थापन गरी दिए गाउँका सयौँ महिला स्वरोजगार बन्ने उनले बताए। मेला महोत्सव लाग्दा महिलाहरूले सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक तथा अन्य स्थानीय उत्पादन ‘स्टल’मै राखेर बिक्री गरिएको थियो।    

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले महिला उद्यमीलाई लेबलिङ, प्याकेजिङ र ब्राण्डिङ गरेर बजारीकरणमा सहजीकरण गरिरहेको बताए। बर्खामा ग्रामीण सडक अवरुद्ध हुँदा बजारीकरणमा समस्या भएको र नगरपालिकाले यसै वर्षदेखि कृषि एम्बुलेन्स खरिद गरी उत्पादित वस्तु बजारमा पुर्याउन सहयोग गर्ने शर्माले बताए।

साउन २९, २०८१ बुधबार १३:४२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।