आइएमई र जिएमई रेमिट गाभिए, आइएमई लिमिटेडको नाममा एकीकृत कारोबार सुरु

आइएमई र जिएमई रेमिट गाभिए, आइएमई लिमिटेडको नाममा एकीकृत कारोबार सुरु

काठमाडौँ : आइएमई र जिएमई रेमिट गाभिएर बुधवारबाट आइएमई लिमिटेडका रूपमा एकीकृत कारोबार सुरु गरेको छ। काठमाडौँमा आयोजित कार्यक्रमकाबीच दुई वटा कम्पनी गाभिई संयुक्त कारोबार सुरु भएको जानकारी दिइएको हो।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कम्पनी गाभिएपछि आगामी दिनमा सेवा थप सहज तथा सुरक्षित बन्दै जाने र चाँडै सार्वजनिक निष्कासनमा जाने बताए।

दुई कम्पनीको एकीकृत कारोबार सुरु भएसँगै अध्यक्ष ढकालले आइएमई लिमिटेडको सञ्चालक समितिको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका थिए। आइएमई सुरुआतको समय करिब २० प्रतिशत मात्र औपचारिक रहेको ‘रेमिटेन्स’ अहिले करिब ८० प्रतिशत औपचारिक माध्यमबाट आउन थालेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क रहेको ढकालले बताए।

नेपालमा आउने रेमिट्यान्सको करिब ५० प्रतिशत बजार हिस्सा बैङ्क तथा वित्तीय संस्थाको रहेको पनि उनले बताए।

सरकार तथा नियामक नेपाल राष्ट्र बैङ्कले ल्याउने नीति नियमको कार्यान्वयनमा आइएमई ग्रुप अग्रस्थानमा रहेको अध्यक्ष ढकालको दाबी छ।

नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्रले हुन्डी कारोबारलाई नियन्त्रण गर्दै वैधानिक बाटोबाट विप्रेषण भित्र्याउन आवश्यक रहेको बताए। विदेशमा रहेका नेपालीलाई वैधानिक माध्यमबाट मात्रै नेपालमा पैसा पठाउन आग्रह गर्दै उनले सजिलो तरिकाले रेमिटेन्स आप्रवाहका लागि राष्ट्र बैङ्कले नीतिगत सहजता गर्ने बताए।

साउन २९, २०८१ बुधबार १३:३१:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।