‘भैँसी ब्लक’ कार्यक्रमले चापाकोटका किसान पशुपालनतर्फ आकर्षित

‘भैँसी ब्लक’ कार्यक्रमले चापाकोटका किसान पशुपालनतर्फ आकर्षित

स्याङ्जा : स्याङ्जाको चापाकोटमा ‘भैँसी ब्लक’ कार्यक्रम सञ्चालन भएसँगै किसान पशुपालनतर्फ आकर्षित भएका छन्।  भेटेरिनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्रको साझेदारीमा गत आर्थिक वर्ष २०८०-८१ मा भैँसी ब्लक कार्यक्रम सञ्चालन भएको हो।    

भैँसी ब्लक कार्यक्रमले चापाकोट–८ मा रहेको रत्नपुर साना किसान कृषि सहकारी संस्थामा आबद्ध किसानको व्यावसायिक विकासका लागि सहयोग पुगेसँगै पशुपालनतर्फ आकर्षित भएका सहकारीका अध्यक्ष जीवन डोटेलले बताए।

‘भैँसी ब्लक कार्यक्रमले परम्परागत रूपमा पशुपालन गर्दै आएका किसानको आनीबानी तथा व्यवहारमा परिवर्तन ल्याएको छ’, उनले भने, ‘पशुका लागि दानापानी, घाँस, सामान्य औषधोपचार गर्ने तौरतरिकाका बारेमा ज्ञान पाएसँगै पशुपालनतर्फ आकर्षित भएका हुन्।’

भैँसी ब्लक कार्यक्रमबाट गोठलगायत पूर्वाधार निर्माण गरी किसानले नयाँ पशु थप गर्दै गएका छन्। भैँसी ब्लक कार्यक्रममा सहकारीमा आबद्ध ६१ जना किसान सहभागी भएका थिए। यहाँका ६१ किसानका नयाँ गोठ निर्माण, पुराना गोठ मर्मत, डुँड तथा भकारो सुधार, मलमूत्र व्यवस्थापन कार्य भैँसी ब्लकमार्फत सञ्चालन गरिएको थियो।

भैँसी पाल्न संरचना आधुनिक तरिकाले निर्माण भएका छन्। पुराना संरचनालाई मर्मत तथा सुधार गरिएको छ। घाँस काटेर स–सानो टुक्रा पारेर पशुलाई दिँदा खेर नजाने हुँदा घाँसको बचत भएको छ। दानापानीका लागि डुँड बनाइएकाले सहज भएको उन बताए।
    
 भैँसी ब्लक कार्यक्रम सञ्चालन भएपछि स्थानीयस्तरमा पहिलेदेखि नै पशुपालन गर्दै आएका किसान थप व्यावसायिक बन्दै गएको भेटेरिनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्रका वरिष्ठ पशु चिकित्सक डा रुपेश श्रेष्ठले बताए। किसानमा उत्प्रेरणा र प्रोत्साहन भएकाले पशुपालन आधुनिकीकरणसँगै थप व्यवस्थित एवम् व्यवसायितकतर्फ अगाडि बढ्दै गएको उनले बताए।    

डा श्रेष्ठका अनुसार सहकारीमा आबद्ध चापाकोट–८ र ९ मा नयाँ गोठ निर्माण पाँच, गोठ मर्मत सुधार नौ, डुँड निर्माण भकारो सुधार ३३, मलमूत्र व्यवस्थापनसम्बन्धी १४ गरी कूल ६१ किसान लाभान्वित भएका छन्। भैँसी ब्लक कार्यक्रममार्फत पशु आहार तालिम, पशु स्वास्थ्य शिविर, घाँसको बीउ वितरण र भिटामिन उपलब्ध गराइएको थियो।

साउन २९, २०८१ बुधबार १३:१९:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।