अष्ट्रेलिया गएको छोरो १८ दिनदेखि सम्पर्कविहीन भएपछि अष्ट्रेलियन दूतावास पुग्यो सुभाषको परिवार

काभ्रेपलाञ्चोक : अध्ययनका सिलसिलामा नौ महिनाअघि अष्ट्रेलियाको सिड्नी पुगेका पाँचखाल नगरपालिका-७ का २७ वर्षीय सुभाष बोखले १८ दिनदेखि सम्पर्कविहीन भएका छन्।
१८ दिनदेखि परिवारसँग सम्पर्कविहीन भएपछि उनको खोजी गरिदिन परिवारले नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कलाई अनुरोध गरेका छन्।
पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले बोलखेका परिवारका सदस्यसहित अष्ट्रेलियन दूतावास पुगेर बोलखेको खोजीका लागि आग्रह गरेका हुन्।
जवाफमा राजदूत भोल्कले तत्काल जनशक्ति परिचालन गरी आवश्यक खोजबिनसहित सम्पर्कविहीन अवस्थामा रहेका विद्यार्थी बोलखेका बारेमा यथार्थ जानकारी गराउने आश्वासन दिएको नगरप्रमुख खरेलले बताए।
उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया गएका कान्छा छोरा ‘सुभाष’ सिड्नी सहरमा नौ महिनादेखि एक्लै बस्दै आएको पिता सुदर्शन बोलखेले बताए।
भेटघाटलगत्तै दूतावासको सक्रियतामा सिड्नीस्थित प्रहरी निकायले आफ्नो वेबसाइटमा सुभाष हराएको बारे निजको हुलियासहित जानकारी गराउँदै देख्ने-भेट्नेले खबर गर्न आग्रहसमेत गरेको छ।
यसैगरी, बोलखे परिवारले पनि सुभाषको खोजबिनमा सहयोग गर्न सिड्नीस्थित नेपाली समुदाय र अन्य सरोकारवाला निकायसँग आग्रह गर्दै आएको छ।
साउन ३०, २०८१ बुधबार १२:५९:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।