नदीको दायाँ-बायाँ क्षेत्रमा भवन निर्माण नगर्न काठमाडौं महानगरको आग्रह

नदीको दायाँ-बायाँ क्षेत्रमा भवन निर्माण नगर्न काठमाडौं महानगरको आग्रह

काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्रभित्रका नदीको दायाँ-बायाँ क्षेत्रमा भवन निर्माण नगर्न सार्वजनिक सूचना जारी गरेको छ।

बुधबार गोरखापत्रमा सार्वजनिक सूचना निकालेर महानगरले महानगरपालिका क्षेत्रभित्रका नदीको दायाँ-बायाँ क्षेत्रमा भवन निर्माण नगर्न भनेको हो।

अधिवक्ता प्रकाशमणि शर्मा समेत निवेदक र काठमाडौं महानगरपालिका समेत विपक्षी भएको ०६७-WO-१००२ नम्बरको उत्प्रेषण समेत मुद्दामा भएको फैसलालाई आधार मानी २०५१ साउन २४ गते काठमाडौं महानगरपालिकाको प्रमुख स्तरीय निर्णयलाई हवाला दिँदै महानगरले सूचना जारी गरेको हो।

सूचनामा काठमाडौं महानगरपालिका क्षेत्रभित्रका नदीको नापी नक्साबाट कायम रहेको छेउबाट दायाँ बायाँ छोड्नुपर्ने भनि तोकेको दूरीका अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिने, निर्माण कार्य रोक्का राख्ने भनिएको छ।

यसका अलावा महानगरले बागमती नदी र तिनका सबै सहायक नदीमा मलमुत्रयुक्त प्रदूषित पानी नपठाउने, निजी तथा सरकारी घर तथा स्वामित्वको व्यावसायिक भवन, कार्यालयको खुला क्षेत्रमा सकपिट बनाई भूमिगत जलस्रोत पुनः भरण गर्ने, नदीहरूमा कुनै किसिमका फोहोर नफाल्न समेत आग्रह गरेको छ।

सूचनाको उल्लङ्घन गरी कसैले कुनै कार्य गरेमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने र उल्लिखित कार्यहरू भए नभएको नियमित अनुगमन गर्ने कार्य काठमाडौं महानगरपालिका र मातहतका वडा कार्यालयबाट हुने समेत महानगरले जनाएको छ।

साउन २९, २०८१ बुधबार ११:५८:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।