१७ प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

१७ प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

काठमाडौं : संघीय संसदको संसदीय सुनुवाइ समिति १७ मुलुकमा नेपाली राजदूताका लागि सिफासि भएकाहरूविरुद्ध उजुरी आह्वान गरेको छ।

बुधबार सार्वजनिक सूचना निकालेर समितिले १७ जना व्यक्ति नेपाली राजदूता पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने १० दिनभित्र कार्यालय समयभित्र सिंहदरबारस्थित समितिको कार्यालयमा उजुरी दिन आग्रह गरेको छ।

समितिले त्यस्ता उजुरी मर्यादित भाषामा, प्रष्ट आधार एवं सबुत प्रमाण सहितको हुनुपर्ने उल्लेख गरेको छ। त्यस्ता उजुरी जिल्ला प्रशासन कार्यालयमार्फत पनि दिन सकिने सूचनामा उल्लेख छ।

सूचना दिने सूचना दाताले आफ्नो नाम, थर, वतन र फोन नम्बर, प्रष्ट रूपमा खुलाउनुपर्ने र निजले चाहेमा सूचना दाताको नाम गोप्य राखिने समेत बताइएको छ।

साथै समितिले यससम्बन्धी सूचना वा उजुरी प्राप्त हुन आएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले उल्लिखित म्यादभित्रै त्यस्ता सूचना वा उजुरी समितिको सचिवालयमा आइपुग्ने गरी पठाइदिन समेत निर्देशन दिएको छ।

केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएसँगै १७ देशमा राजदूतका लागि सिफारिस भएको थियो। सरकारले अमेरिकाका लागि लोकदर्शन रेग्मी, बेलायतका लागि चन्द्रकुमार घिमिरे, श्रीलंकाका लागि रामकृष्ण भट्टराई, स्पेनका लागि सनिल नेपाल, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फे, दक्षिण अफ्रिकाका लागि प्रा.डा. कपिलमान श्रेष्ठको नाम सिफारिस गरेको छ।

यस्तै, साउदी अरबका लागि नरेशविक्रम ढकाल, रुसी महासंघका लासग जंगबहादुर चौहान, कतारका लागि रमेशचन्द्र पौडेल, पाकिस्तानका लागि रीता धिताल, मलेसियाका लागि डा. नेत्रप्रसाद तिमिल्सिना, इजरायलका लागि प्रा. धनप्राद पण्डित, भारतका लागि डा. शंकरप्रसाद शर्मा, जर्मनीका लागि डा. शैल रुपाखेती, डेनमार्कका लागि सुम्निमा तुलाधर र चीनका लाग प्रा.डा. कृष्णप्रसाद ओली सिफारिस भएका छन्।

साउन २९, २०८१ बुधबार १०:१२:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।