देश छाडेपछि हसिनाको पहिलो वक्तव्य : मेरो पिताको अपमान भयो, विद्यार्थी हत्यामा संलग्नलाई कारबाही गर

देश छाडेपछि हसिनाको पहिलो वक्तव्य : मेरो पिताको अपमान भयो, विद्यार्थी हत्यामा संलग्नलाई कारबाही गर

काठमाडौं : बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छाडेपछि पहिलो पटक वक्तव्य जारी गरेकी छन्।

मंगलबार छोरा सजीब वाजेद जोयमार्फत एक वक्तव्य जारी गर्दै आफ्नो पिताको अपमान गरिएको बताएको बंगलादेशी अखबार डेली स्टारले जनाएको छ।

उनले भनिन्, ‘बंगबन्धु शेख मुजिबुर रहमान जसको नेतृत्वमा देशले स्वतन्त्रता हासिल गरेको थियो, आज देशमा उनको अपमान गरिएको छ। उनीहरू(प्रदर्शनकारीहरू)ले मेरो बुवाको अपमान गरेका छन्, म देशवासीसँग न्याय माग्छु।’

शेख हसिना अगस्ट ५ मा देश छोडेर भारत गएकी छन्। अहिले पनि उनी त्यहिँ छिन्।

शेख हसिनाले बंगलादेशी नागरिकहरूलाई अगस्ट १५ मा आफ्ना पिता शेख मुजिबुर रहमानको स्मृतिजयन्ती मनाउन आग्रह गरेकी छन्। मुजिबुर रहमानको १५ अगस्ट १९७५ मा गोली हानी हत्या गरिएको थियो। अर्कोतर्फ बंगलादेशको अन्तरिम सरकारले १५ अगस्टको बिदा रद्द गरेको छ।

हसिनाले मृतकप्रति श्रद्धान्जली व्यक्त गर्दै पीडितका परिवारप्रति समवेदना समेत प्रकट गरेकी छन्।

विज्ञप्तिमा उनले भनेकी छन्, ‘जुलाईदेखि अहिलेसम्म आन्दोलनको नाममा तोडफोड, आगजनी र हिंसामा धेरैले ज्यान गुमाएका छन्। उहाँहरूका लागि प्रार्थना गर्नुहोस्। म जस्ता आफ्ना प्रियजन गुमाउने पीडामा बाँचिरहेका सबैप्रति मेरो समवेदना।’

आन्दोलनमा धेरै विद्यार्थी, शिक्षक, प्रहरी, पत्रकार, अवामी लिगका नेता र सामाजिक कार्यकर्ता मारिएका थिए। उनले यो हत्या र बर्बरतामा संलग्नलाई कडा कारबाही गर्न समेत माग गरेकी छन्।

उनले भनिन्, ‘म यी हत्या र बर्बरतामा संलग्नहरूलाई कडा सजाय दिन माग गर्दछु।’

सेनाको शरणमा अवामी लिगका नेता
मंगलबार बंगलादेशका सेना प्रमुख जनरल वाकर उज-जमानले अवामी लिग सरकारका केही ठूला नेताहरूको ज्यान जोखिममा रहेकाले उनीहरूलाई सेनाले आश्रय दिएको बताएका छन्। अवामी लिग हसिनाको पार्टी हो।

उनले बताए, ‘यदि कसैलाई उनीहरूको जीवनमा खतरा छ भन्ने लाग्छ भने हामी उनीहरूलाई उनीहरूको जात र धर्मको नहेरी शरण दिनेछौं। यदि उनीहरूमाथि कुनै आरोप वा मुद्दा छ भने, मुद्दा दर्ता हुनेछ। हामी उनीहरूमाथि कुनै पनि गैरन्यायिक कारबाही गर्नेछैनौँ।’

सेना प्रमुखले आफूमाथि अन्तर्राष्ट्रिय समुदायबाट कुनै दबाब नरहेको दाबी गर्दै अल्पसंख्यकको अवस्थाबारे छलफल भइरहेको बताए। उनले आफूहरू एउटा पनि त्यस्ता घटना नहोस् भन्ने चाहेकाले त्यसमाथि निगरानी राखिरहेको जानकारी दिए।

यसैबीच ढाका प्रहरीले मंगलबार शेख हसिनाका सल्लाहकार सलमान रहमान र पूर्व कानुनमन्त्री अनिसुल हकलाई पक्राउ गरेको छ। ढाका सदरघाटमा डुंगा चढेर भाग्ने क्रममा यी दुई पक्राउ परेका हुन्। हसिनाले देश छोडेपछि दुवै भूमिगत थिए।

शेख हसिनाविरुद्ध ज्यान मार्ने मुद्दा दर्ता
हसिनाले देश छाडेर भागेको ८ दिनपछि मंगलबार हसिनासँगै उनको सरकारका गृहमन्त्री असदुज्जमान खान, अवामी लिगका महासचिव ओबैदुल कादेर र पूर्व आईजी अब्दुल्ला अल मामुनसहित अन्य दुईमाथि हत्या आरोपमा मुद्दा दर्ता भएको छ।

मोहम्मदपुरमा आरक्षण विरोधी आन्दोलनका क्रममा १९ जुलाईमा प्रहरीको गोलीबाट एक पसले अबु सैयदको मृत्युसँग सम्बन्धित छ। ढाकाका मुख्य महानगरीय मजिस्ट्रेटले पनि हत्याको अनुसन्धान गर्न आदेश दिएका छन्।

गएराति पूर्वगृहमन्त्री असदुज्जमान, उनकी श्रीमती र दुई छोराको बैंक खाता रोक्का गरिएको छ।

आरक्षण विरोधी आन्दोलन चर्किएपछि हसिनाले ५ अगस्टमा देश छाडेर भागेकी थिइन्।

साउन २९, २०८१ बुधबार ०७:५६:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।