इंग्ल्यान्डका पूर्व क्रिकेटर ग्राहम थोर्पले रेलको ट्र्याकमा हामफालेर आफ्नै ज्यान लिए
एजेन्सी : इंग्ल्यान्डका पूर्व ब्याट्सम्यान ग्राहम थोर्पले सरेस्थित एसेर रेलवे स्टेशनमा रेलको ट्र्याकमा हामफालेर आत्महत्या गरेका छन्। उनको मंगलबार मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिएको हो।
डिप्रेसन र गम्भीर तनावबाट पीडित ५५ वर्षीय थोर्पले आत्महत्या गरेको सोमबार परिवारले पुष्टि गरेको छ।
मंगलबार वोकिंगको सरे कोरोनरको अदालतमा बोल्दै, कोरोनर साइमन विकन्सले थोर्प अगस्ट ४ को बिहान रेलको ट्र्याकमा हामफालेपछि गम्भीर घाइते भएको बताएका थिए।
विकन्सले थोर्पको परिवार र उनको जीवन र करियरमा संलग्न सबैप्रति सहानुभूति व्यक्त गर्दै मृत्युको पूर्ण छानबिनका लागि मिति तय गरिने समेत बताए।
थोरपेको निधनपछि क्रिकेट जगतमा शोकको लहर छाएको छ र धेरै पूर्व क्रिकेटर र हाल क्रिकेट खेल्दै आएका क्रिकेटरहरुले श्रद्धाञ्जली अर्पण गरेका छन्।
पूर्व बायाँ हाते ब्याट्सम्यान थोर्पले इंग्ल्याण्डको प्रतिनिधित्व गर्दै १ सय ८२ खेल खेलेका थिए जसमा १०० टेस्ट समावेश थिए। उनले आफ्नो करियरमा १६ टेस्ट शतक पनि बनाएका छन्।
थोर्पले इंग्ल्यान्ड पुरुष टोलीको सहायक प्रशिक्षकको रूपमा पनि काम गरेका थिए। तर, २०२१–२२ को एसेजमा इङ्ल्यान्डको ४-० को हारपछि थोर्पलगायत सबै सहायक प्रशिक्षकहरूलाई उनीहरूको भूमिकाबाट हटाइयो।
यसपछि उनी अफगानिस्तान क्रिकेट टिमको मुख्य प्रशिक्षक बन्ने प्रयास गरे पनि असफल भएका थिए। उनले यसअघि पनि मे २०२२ मा आत्महत्याको प्रयास गरेका थिए।
द टाइम्ससँगको अन्तर्वार्तामा थोर्पको परिवारले थोर्पले आत्महत्याको प्रयास गरेको बताएका थिए। उनकी श्रीमती अमान्डाले पूर्व ब्याट्सम्यान विगत केही वर्षदेखि गम्भीर डिप्रेसनबाट ग्रसित रहेको बताइन्।
थोर्पकी श्रीमती र दुई छोरी छन्।
साउन २९, २०८१ बुधबार ०७:३२:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।