सडकको ट्र्याक र प्याराग्लाइडिङको मैदानले बढायो पहिरोको जोखिम, रमितेका आठ घर सङ्कटमा

सडकको ट्र्याक र प्याराग्लाइडिङको मैदानले बढायो पहिरोको जोखिम, रमितेका आठ घर सङ्कटमा

सङ्खुवासभा : सङ्खुवासभा सदरमुकाम खाँदबारी नगरपालिका–५ रमितेका आठ घर पहिराको उच्च जोखिममा परेका छन्। गाउँमाथिबाट जमिन चिरिएर लगातार पहिरो खसिरहेको छ।

पहिरो गएको ठाउँमा दुई वटा ठुला ढुङ्गा रहेकाले पहिरासँगै ढुङ्गा खस्ने खतरा बढेको स्थानीय रामबहादुर गुरुङले बताए। पहिरोका कारण दिनरात त्रास बढेको गुनासो गर्दै उनले स्थानीय सरकारले ढुङ्गा हटाउन सहयोग गर्नुपर्ने बताए।

कोशी राजमार्गको मोटरबाटो गगनेदेखि रमिते गाउँ हुँदै लगिएको छ। एकान्तमा रहेको रमिते गाउँभन्दा माथि देउरालीबाट सडक गाउँसम्म पुर्याइएको छ। गाउँमाथिबाट ट्र्याक खोलिएको र गाउँमाथि नै प्याराग्लाइडिङ उडानका लागि मैदान बनाइएकाले माटो धस्सिएर पहिरो बगिरहेको रमितेका स्थानीयले बताए।

गाउँमा पहिरोका जोखिम बढेको खबर पाएपछि खाँदबारी नगरपालिकाका उपमेयर महेश्वर बज्राचार्य नेतृत्वमा खाँदबारी–५ का वडाध्यक्ष टङ्कबहादुर घिमिरे र खाँदबारी–४ का कार्यवाहक वडाध्यक्ष पवित्रा गुरुङलगायत नगरका टोलीले स्थलगत अवलोकन गरेका थिए।

पहिरो अवलोकनपछि उपमेयर बज्राचार्यले नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट रकम विनियोजन गरी तार जालीसहित ढुङ्गा फुटाउने आश्वासन दिए। केही वर्षअघिदेखि गाउँ पहिरोको जोखिममा छ। गत वर्ष खाँदबारी नगरपालिकाको आर्थिक सहयोगमा केही रोकथाम गर्ने प्रयास स्वरूप तारजाली लगाइएको थियो।

साउन २९, २०८१ बुधबार ०२:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।