स्वास्थ्यमन्त्री पौडेल कर्मचारी सरुवाको सकसमा, मन्त्रीमाथि ‘डाक्टर नेता’ हाबी

स्वास्थ्यमन्त्री पौडेल कर्मचारी सरुवाको सकसमा, मन्त्रीमाथि ‘डाक्टर नेता’ हाबी

काठमाडौं : नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा नियुक्त भए लगत्तै स्वास्थ्यका एक समूह कसलाई कहाँ सरुवा गर्ने भन्ने सूची नै बोकेर भेट्न पुगे। जो-जो सरुवाको सूची बोकेर आए सबैलाई पौडेलले ‘एक महिना त हेरौँ न’ भन्ने जवाफ दिएर फर्काए।

उनी मन्त्री भएको लगभग एक महिना टेक्न लाग्यो अब। ३० दिने कार्यकाल पुगे लगत्तै उनले मन्त्रालय अन्तर्गतका विभाग तथा अस्पतालमा सरुवाको गृहकार्य अगाडि बढाएको देखियो।

विश्वस्तस्रोतका अनुसार उनले सरुवाको प्रारम्भ स्वास्थ्य सेवा विभागको महानिर्देशकबाट गर्ने तयारी गरेका छन्। अहिले विभागको महानिर्देशक छिन् डा. सङ्गीता कौशल मिश्रा।

उनलाई तत्कालीन स्वास्थ्यमन्त्री मोहन बस्नेतले मन्त्रिस्तरिय निर्णय गरेर २०८० भदौ १३ मा विभागको महानिर्देशक नियुक्त गरेका थिए। उनी विभागमा आउनु अगाडि नै खरिदमा मिलेमतोको जालो फैलिसकेको थियो। उनले खरिदलाई पारदर्शी बनाउनुको साटो मन्त्री बस्नेतको निर्देशन अनुसार उनी अनुकूल व्यापारीलाई महँगोमा स्वास्थ्य उपकरण खरिदको ठेक्का दिलाउन थप सक्रिय भइन्। उनी विभागमा रहेर गरेका अधिकांश ठेक्का मिलेमतोमा भएका देखिएका थिए।

स्वास्थ्य सेवा विभागको सङ्गठन संरचना (अर्गानोग्राम) अनुसार स्वास्थ्य सेवाको १२औ तहको कर्मचारी विभागको महानिर्देशक हुने व्यवस्था छ। स्वास्थ्य सचिव डा. रोशन पोख्रेल बाहेक हाल अतिरिक्त स्वास्थ्य सचिवका रूपमा डा. दीपेन्द्र रमणसिंह, डा. मिश्रा, डा. विकास देवकोटा र डा. टङ्क बाराकोटीगरी चार जना १२ तहका कर्मचारी (चिकित्सक) छन्। 

स्वास्थ्य मन्त्री पौडेल डा. मिश्रालाई विभागको महानिर्देशकमा निरन्तरता दिने पक्षमा नभएको उनी निकटस्रोतले उकेरालाई बतायो। उकेराले गरेको सोधखोजमा पनि मन्त्री पौडेल मिश्राको विकल्पको खोजीमा रहेको पुष्टि भयो।

जानकारस्रोतका अनुसार महानिर्देशकका लागि डा. विकास देवकोटा र डा. टङ्क बाराकोटी बढी सक्रिय देखिए। उनीहरू दुवैले मन्त्री पौडेलसँग भेटेर विभागको महानिर्देशक बन्न इच्छा व्यक्त गरिसकेका छन्। मन्त्री पौडेलले दुबैलाई ‘हेरौँला, बिचार गरौँला’ भनेर पठाएको देखियो।

डा. सिंह  पहिला नै महानिर्देशक भइसकेका छन्। उनी अहिले महानिर्देशक बन्ने प्रतिस्पर्धामा देखिएनन्। यसले मिश्रालाई हटाएको अवस्थामा देवकोटा र बाराकोटी नै मुख्य प्रतिस्पर्धी देखिए।

डा. देवकोटा यस अगाडि निश्चित कम्पनीको सामाग्री मात्र मिल्ने गरी स्वास्थ्य उपकरण खरिदमा जोडिएका व्यक्ति हुन्। उकेराको सोधखोजमा उनी मेडिकल उपकरणको आपूर्तीकर्ताहरूमध्ये मुख्यतः लुम्बिनी हेल्थ केयर प्रालीका सञ्चालकसँग अति निकट देखिए।

उनलाई महानिर्देशक बनाउन स्वास्थ्य सचिव डा. रोशन पोख्रेलले समेत सक्रिय देखिए। यस विषयमा कुराकानीका लागि सचिव पोख्रेलसँग सम्पर्क गर्दा उनले आफूलाई यसबारे थाहा नभएको दाबी गरे। विभागको महानिर्देशक परिवर्तन गर्ने तयारी हो? भन्ने उकेराको जिज्ञासामा सचिव पोख्रेलले भने,‘थाहा भएन मलाई।’

देवकोटालाई महानिर्देशक बनाउन कांग्रेस निकट ‘डाक्टर नेता’हरू समेत सक्रिय देखिए। मुख्यतः नेपाल चिकित्सक सङ्घको नेतृत्वमा रहेका डाक्टर नेताहरूले मन्त्री पौडेल भेटेर देवकोटाको पक्षमा लबिङ गरेको देखिएकाले सङ्गीता कायम नभएको अवस्थामा देवकोटाको सम्भावना बलियो देखियो।

मन्त्री पौडेलले विभागहरूसँगै सङ्घीय अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट सरुवाको गृहकार्यमा देखिए। उनी यस अगाडि बदमासीमा जोडिएकाहरूलाई जिम्मेवारी दिने पक्षमा नभएको उनी निकट स्रोतको दाबी छ।

ब्यक्तीगत स्वार्थका लागि स्वास्थ्यमन्त्रीमाथि सधैँ हाबी हुने प्रयास गर्ने नेपाल चिकित्सक सङ्घ लगायतका संस्थाहरूका वर्तमान र पूर्व पदाधिकारीहरूले 'कार्यकालमा सहयोग चाहिने हो भने' आफ्नो सिफारिस अनुसार सरुवा हुनुपर्ने भन्दै मन्त्रीमाथि दबाब बढाइरहेका छन्।

नेपाल चिकित्सक सङ्घ चिकित्सकहरूको पेसागत सङ्गठन भए पनि यसमा नेपाली कांग्रेस निकट चिकित्सकहरूको दबदबा रहँदै आएको छ। अहिले संघको अध्यक्षमा डा अनिल कार्की छन्। डा लोचक कार्की निवर्तमान अध्यक्ष हुन्। डा बद्री रिजाल वरिष्ठ उपाध्यक्ष छन्। सरुवामा यी तीनै जनासँगै दबाब बढाउन संघका पूर्व अध्यक्ष डा केदारनरसिंह केसी पनि सक्रिय देखिए।

मुख्यतः स्वास्थ्य उपकरण खरिद हुने विभाग अन्तर्गतका महाशाखा र शाखाहरू, मन्त्रालयको नीति तथा योजना महाशाखा, राष्ट्रिय ट्रमा सेन्टर, गेटा मेडिकल कलेज लगायत खरिदको बढी बजेट रहेको र खरिदमा प्रभाव पार्न सक्ने कार्यालयको प्रमुखको सरुवाका लागि मन्त्री पौडेल दबाबमा देखिए।

साउन २८, २०८१ मंगलबार २३:१७:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।