टेलिकमका कर्मचारी बिदामा बस्दा हुम्लाको राया गाउँका स्थानीयले एक महिनादेखि टेलिफोन गर्न पाएनन्
हुम्ला : हुम्लाको सदरमुकाम सिमकोटसँग जोडिएको खार्पुनाथ गाउँपालिका–३ राया गाउँमा करिब एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध छ।
सिमकोट ठानाकोटमा रहेको नेपाल टेलिकमको टावरमा समस्या हुँदा सेवा अवरुद्ध छ। तर टेलिकमले कर्मचारी विदामा छन् भनेर मर्मत गरेको छैन। विशेष गरी खार्पुनाथ गाउँपालिकाका चार वडाका सेवाग्राही मर्कामा परेको स्थानीय टेक बुढाले जानकारी दिए।
महिना दिनदेखि टेलिफोन नहुँदा यहाँका नागरिकले जिल्ला बाहिर र सदरमुकामलगायत छिमेकी गाउँपालिकामा रहेका आफन्तसँग सम्पर्क गर्न पाएका छैनन्।
टावर मर्मतका लागि नेपाल टेलिकम कार्यालय हुम्लालाई वडाध्यक्ष च्यागा बोहराले ध्यानाकर्षण गराए पनि काम भएको छैन। टेलिकमले हप्ता दिनभित्र मर्मतका लागि कर्मचारी पठाउने बताए पनि हालसम्म काम भएको छैन।
नेपाल टेलिकम हुम्लाका निमित्त प्रमुख रिञ्जिन लामाले कर्मचारी अभाव र भएका कर्मचारी बिदामा रहेकाले मर्मत गर्न नसकिएको बताए।
वडा नम्बर एक लाली, पिउस, वडा नम्बर दुई थाली, वडा नम्बर तीन राया, र वडा चार याङचु गाउँका सेवाग्राही टेलिफोन सेवाबाट वञ्चित छन्। यहाँ सोलारका भरमा सेवा सञ्चालन हुने गरेको छ तर सोलार पू्राना भएकाले समस्या हुने गरेको देखियो। टावर रहेको स्थानसम्म विद्युत् पुगेको भए पनि टावरमा विद्युत् जडानका गरिएको छैन।
साउन २९, २०८१ मंगलबार २२:०१:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।