दलित आयोगले भन्यो- खगेन्द्र सुनारलाई तत्काल रिहाइ गर

दलित आयोगले भन्यो- खगेन्द्र सुनारलाई तत्काल रिहाइ गर

काठमाडौं : राष्ट्रिय दलित आयोगले दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ परेपछि रिहाइको माग गरेको छ। 

मंगलबार आयोगले एक विज्ञप्ति जारी गर्दै सुनारलाई तत्काल रिहाइ गरी निजले उठाएका मुद्दाहरूलाई सम्बोधन गर्न सरकारसमक्ष माग गरेको हो। 

'शान्तिपूर्ण धर्ना बसेका, संवैधानिक तथा कानुनी हक कार्यान्वयनको माग गरिरहेका खगेन्द्र सुनारलाई तत्काल रिहा गरी निजले उठान गरेका दलित समुदायको हक सम्बन्धी कानुन बमोजिमका माग अबिलम्ब सम्बोधन गर्न नेपाल सरकारसमक्ष अपिल गर्दछौं', विज्ञप्तिमा उल्लेख छ। 

सुनारको विषय संसद्मा पनि 
मंगलबारको संसद बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद अनिशा नेपालीले आन्दोलनरत सुनारले दलितको अधिकारबारे गरेको प्रदर्शनबारे प्रतिनिधि सभामा प्रश्न उठाइन्। 

उनले माइतीघर मण्डलामा सुनारले जीउमा साङ्लोले बाँधेर कालो प्ले कार्डसहित दलितलाई अधिकार खोजेर प्रश्न गरिरहेकाले सरकारले जवाफ दिन आनाकानी गरेको बताइन्। 

उनले यस्ता प्रश्नलाई सरकारले बेवास्ता गरे भोलि आदिवासी जनजाति मधेसी, मुस्लिम, चेपाङ लगायतले आफ्नो मुद्दाका लागि सडकमा उत्रिन सक्ने चेतावनीसमेत दिइन्।  

मन्त्रिपरिषद् र राजनीतिक नियुक्तिमा उपेक्षा गरिएको भन्दै दलित समुदायका प्रतिनिधिहरूले माइतीघरमा शनिबारबाट प्रदर्शन गरिरहेका सुनारलाई मंगलबार निषेधित क्षेत्र तोडेर नेल लगाएर संसद भवनमै प्रवेश गर्न खोजेको भन्दै प्रहरीले पक्राउ गरेको हो। 

संवैधानिक हक बमोजिम राज्यका निकायहरूमा दलित समुदायको प्रतिनिधित्व नदिइएको भन्दै सुनारसहितका अभियन्ताहरूले प्रदर्शन गर्दै आएका थिए। 

उनीहरूले गएको शनिबार ‘दलितलाई मन्त्री खै?’, ‘दलितलाई बजेट खै?’, ‘दलितलाई राजदूत खै?’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। 

संघीय सरकार, प्रदेश सरकार र विभिन्न संवैधानिक निकायको नियुक्तिमा दलित समुदायलाई संवैधानिक व्यवस्था बमोजिम समानुपातिक प्रतिनिधित्व दिनुपर्ने उनीहरूको माग छ।  

साउन २८, २०८१ मंगलबार २१:४६:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।