बैतडीको पुर्चौडी जोड्ने सडक भासियो,खाद्यान्न अभाव हुन थाल्यो
बैतडी : बैतडीको पुर्चौडी नगरपालिकाको केन्द्र जोड्ने ढोल्यामोड–हाट सडक चार दिनदेखि अवरुद्ध छ। ठाउँ ठाउँमा पहिरो जाने र सडक भासिने समस्याले सडकमा यातायात चल्न सकेको छैन।
शनिवार रातिदेखि सडक पूर्ण रूपमा अवरुद्ध हुँदा पुर्चौंडी पुग्ने यात्रु अलपत्र छन्। उनीहरू ढोल्यामोडदेखि हिँडेर गइरहेका छन्।
ढोल्यामोड–हाट सडकको खामोहाले, गोफाखोला नजिक, सनगाउँ, बडगाउँ विद्यालय नजिकै पहिरो खसेको स्थानीय पुरनसिंह ऐरले बताए।
ठन्डा पानी भन्ने ठाउँमा करिब ४० मिटर सडक भासिएको छ। यातायात नचल्दा पुर्चौडीमा खाद्यान्न अभाव हुन थालेको स्थानीयले बताए।
ढोल्यामोड–हाट सडक स्तरोन्नतिको काम भइरहेको छ। सडक चौडा गर्ने क्रममा नयाँ कटिङ गरेका ठाउँमा पहिराको जोखिम बढी देखिएको छ।
सडक खुलाउन दुई वटा जेसिबी प्रयोग गरेर प्रयास गरिए पनि सम्भव नभएको पुर्चौडी नगरपालिकाका इन्जिनियर अनिलसिंह बोहराले बताए।
साउन २९, २०८१ मंगलबार २३:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।