बङ्गलादेशको अदालतमा पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध हत्याको मुद्दा चल्यो

बङ्गलादेशको अदालतमा पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध हत्याको मुद्दा चल्यो

ढाका : गत महिना नागरिक अशान्तिका क्रममा प्रहरीले एक व्यक्तिको हत्या गरेको आरोपमा बङ्गलादेशको एक अदालतले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिना र उनको प्रशासनका शीर्ष छ व्यक्तिविरुद्ध अनुसन्धान सुरू गरेको छ। 

विद्यार्थी आन्दोलन चर्किएपछि गएको हप्ता ७६ वर्षीया हसिना हेलिकप्टरबाट छिमेकी मुलुक भारततर्फ भागेकी थिइन्। उनी अहिले भारतमै छिन्। उनको कार्यकालको नाटकीय अन्त्यमा प्रदर्शनकारीहरूले ढाकाको सडकमा ठूलो विरोध प्रदर्शन गरेका थिए। 

उनको पतनसम्मको अशान्तिका साताहरूमा चार सय ५० भन्दा बढी मानिस मारिएका थिए। 

निजी नागरिकका तर्फबाट मुद्दा ल्याएका वकिल मामुन मियाले भने, 'शेख हसिना र अन्य छ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ।'

उनका अनुसार महानगरीय अदालतले प्रहरीलाई ‘आरोपित व्यक्तिहरूविरुद्ध हत्याको मुद्दा’ स्वीकार गर्न आदेश दिएको थियो। यो बङ्गलादेशी कानूनअन्तर्गत फौजदारी अनुसन्धानमा पहिलो कदम थियो।

अदालतमा मियाले दायर गरेको मुद्दामा हसिनाका पूर्वगृहमन्त्री असदुज्जामान खान र हसिनाको अवामी लिग पार्टीका महासचिव ओबैदुल कादिरको नाम पनि समावेश गरिएको छ। यसमा हसिना सरकारले नियुक्त गरेका चार शीर्ष प्रहरी अधिकारीको पनि नाम छ। उनीहरूलाई पदबाट बर्खास्त गरिएको छ। 

उक्त मुद्दामा एक किराना पसलका मालिकको मृत्युको जिम्मेवारी सात जनालाई लगाइएको छ। जुलाई १९ मा विरोध प्रदर्शनलाई हिंसात्मक रूपमा दबाउने क्रममा प्रहरीले उनको गोली हानी हत्या गरेको थियो। 

डेली स्टार अखबारका अनुसार गोलीबारी भएको छिमेकका निवासी अमिर हम्जा शातिल र पीडितका एक ‘शुभचिन्तक’ का तर्फबाट मुद्दा ल्याइएको थियो।

साउन २८, २०८१ मंगलबार २१:०३:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।