एएफसी च्यालेन्ज लिगमा चर्च ब्वाइज भुटानको क्लबसँग २–१ गोलले पराजित

एएफसी च्यालेन्ज लिगमा चर्च ब्वाइज भुटानको क्लबसँग २–१ गोलले पराजित

काठमाडौं : एएफसी च्यालेन्ज लिगअन्तर्गत प्रारम्भिक चरणको खेलमा नेपालको चर्च ब्वाइज युनाइटेड क्लब भुटानको पारो एफसीसँग पराजित भएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा पारो एफसीले चर्च ब्वाइजलाई २–१ गोलअन्तरले पराजित गर्यो। पारो एफसीको जितमा किङ्गा वाङ्चुक र विलियम ओपोकुले एक/एक गोल गरे।

खेलमा ३८ औँ मिनेटमा लाकेन लिम्बुले गोल गरेपछि चर्च ब्वाइजले अग्रता लिएको थियो। मोसेस गाबाले पेनाल्टी बक्समा हेडमार्फत दिएको पासमा लाकेनले गोल गरेका थिए। 

तर, चर्च ब्वाइजको अग्रता लामो समयसम्म टिक्न सकेन। खेलको ४० औँ मिनेटमा पारोका लागि किङ्गा वाङ्चुकले गोल गर्दै खेल बराबरीमा ल्याए। चर्च ब्वाइजका गोलकिपर दीप कार्की अघि बढेको अवस्थामा किङ्गाले गोल गर्न सफल भए। 

खेलको ६६ औँ मिनेटमा पारो एफसीका लागि विलियम ओपोकुले निर्णायक गोल गर्दै २–१ को अग्रता दिलाएका थिए।

जितसँगै पारो एफसी प्रतियोगिताको समूह चरणमा प्रवेश गरेको छ भने चर्च ब्वाइज प्रतियोगिताबाट बाहिरिएको छ। भुटानी क्लबले सिनियरस्तरको प्रतियोगितामा नेपाली क्लबलाई हराएको यो पहिलोपटक हो।

भुटानी लिग च्याम्पियन पारो एफसीले पहिलो रोजाइमा नौ विदेशी खेलाडीलाई मैदानमा उतारेको थियो भने सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइजले तीन जना विदेशी खेलाडी मैदानमा उतारेको थियो। 

साउन २८, २०८१ मंगलबार २०:३९:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।