हवाई सुरक्षाबारे सांसद सोविताको सार्वजनिक महत्वको प्रस्ताव दर्ता, उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायकमा विभाजन गर्न माग

हवाई सुरक्षाबारे सांसद सोविताको सार्वजनिक महत्वको प्रस्ताव दर्ता, उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायकमा विभाजन गर्न माग

काठमाडौँ : नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायकको रूपमा विभाजन गरी नागरिक उड्डयन क्षेत्रको नियमन कार्यलाई प्रभावकारी बनाउने लगायतका विषयमा छलफलको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले संसद्मा छलफलको माग गर्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएकी छिन्।

रास्वपाका १५ सांसदहरूको समर्थनसहित गौतमले मङ्गलवार संसद् सचिवालयमा दर्ता भएको प्रस्तावमा प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायकको रूपमा विभाजन गरी सेवा प्रदायकहरूको सेवालाई समेत व्यवस्थित गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रम एवं अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूको सिफारिस किन लागु नभएको हो  सो बारे छलफल गर्नुपर्ने उल्लेख छ।

हालै एकै महिनाकोबीचमा एक विमान र एक हेलिकप्टर दुर्घटनामा २३ जनाको मृत्यु भएपछि नेपालको हवाई सुरक्षा अन्तराष्ट्रिय क्षेत्रको चासोको  विषय बनेको बेलामा उनले प्रस्ताव दर्ता गरेकी हुन्।

नेपालमा बारम्बार भइरहेका हवाई दुर्घटना न्यूनीकरणका उपाय, हवाई दुर्घटना दोहरिरहने तर नियामक निकाय र हवाई सेवा प्रदायकलाई जिम्मेवार बनाउन नसकिएको अवस्थालाई परिवर्तन गर्न, हवाई दुर्घटनापछि छानबिन समिति बन्ने तर प्रतिवेदनले औंल्याएका सुझाव कार्यान्वयन निरन्तर नहुने अवस्थाको अन्त्य गर्न संसद्मा छलफल हुनुपर्ने उल्लेख छ।

यसै गरी प्रस्तावमा हवाई यात्रा सुरक्षित बनाई उड्डयन सुरक्षाबारे सर्वसाधारणमा परेको नकारात्मक प्रभाव अन्त्य गर्न, उड्डयन प्राधिकरणको नियामक भूमिका किन फितलो भएको हो सोबारे छलफल गर्न, हवाई दुर्घटनाहरूले एयरलाइन्स र हवाई यातायात उद्योगको छवि र विश्वासमा समेत असर पार्ने हुँदा सुधारात्मक कदम चालेर नेपालको हवाई क्षेत्रको विश्वसनीयता बढाउन संसद्मा यसबारे छलफल हुनुपर्ने प्रस्तावमा उल्लेख छ।

साउन २८, २०८१ मंगलबार १८:२२:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।