पाँच अर्ब लगानीको सेती जलविद्युतको निर्माण सकियो, परीक्षण उत्पादन सुरु हुँदै

पाँच अर्ब लगानीको सेती जलविद्युतको निर्माण सकियो, परीक्षण उत्पादन सुरु हुँदै

कास्की : पच्चीस मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको परीक्षण उत्पादनको तयारी भएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा आयोजनाको निर्माण सकिएर परीक्षण उत्पादनको चरणमा प्रवेश गरेको हो।

आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिसन लाइन निर्माणको सम्पूर्ण निर्माण सकिएर अहिले यान्त्रिक परीक्षणको काम भइरहेको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले जनाएको छ।    

‘आयोजनाको निर्माणतर्फका सबै काम सकिएको छ। साउन ३० मा पेनस्टक पाइपमा पानी हाल्छौँ। त्यसपछि वेटटेष्ट (पानी भरेर परीक्षण तथा टर्वाइन घुमाउने)को काम सुरु हुन्छ’, प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले भने।

‘वेट टेस्ट’को काम सकिएको दुई साताभित्रमा परीक्षण उत्पादन सुरु हुने कम्पनीले जनाएको छ। त्यसपछि आयोजनाको व्यावसायिक उत्पादन सुरु हुनेछ। सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी सेतीको पानी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत ल्याएर एक सय ८७ मिटर उचाइबाट चिन्तेबगरमा रहेको पावरहाउसमा खसालेर विद्युत् उत्पादन गरिने छ।

पाइपमार्फत लगिएको पानी पावरहाउसमा रहने १२ दशमलव पाँच मेगावाट क्षमताका दुईवटा टर्वाइनमा खसालिने छ। सो आयोजना नदी जलप्रवाहमा आधारित छ।    

सेती नदी जलविद्युत् आयोजनामा पाँच अर्ब बढी लगानी भएको दाबी गरिएको छ। यसमा तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन्। अन्य लगानी प्रवर्द्धक, स्थानीयवासी तथा आइपिओ जारी गरेर पूरा गरिएको आयोजनाका निर्देशक बमबहादुर गुरुङले बताए। सेती नदी जलविद्युत आयोजना २०७७ को अन्तिमदेखि काम सुरु भएको थियो।

साउन २८, २०८१ मंगलबार १७:५७:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।