कांग्रेसकै सरकारमा गगनको 'प्रतिपक्षी आवाज', सरकारलाई सोधे भुटानी शरणार्थी, सहकारी र गिरीबन्धुबारे प्रश्न

कांग्रेसकै सरकारमा गगनको 'प्रतिपक्षी आवाज', सरकारलाई सोधे भुटानी शरणार्थी, सहकारी र गिरीबन्धुबारे प्रश्न

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भुटानी शरणार्थी प्रकरणबारे सरकारले दोषीलाई उम्किन दिन नहुने बताएका छन्। 

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले अघिल्लो सरकारले जहाँ टुंग्याएको छ त्यसबारे जानकारी गराउनुपर्ने बताए। 

उनले भने, 'अघिल्लो सरकारले भुटानी शरणार्थीको विषय जहाँ टुंग्याएको छ। सरकारले प्रष्टसँग भन्नुपर्छ, यति अनुसन्धान भइरहेको छ। यति अभियोजन भएको छ। यति थप अनुसन्धान हुन्छ। अदालतमा विचाराधीन छ। यो विषयमा निर्दोष एउटा पनि छुट्दैन दोषी एउटा पनि उम्कँदैन।'

भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेताहरूको संलग्नता रहेको भन्ने सार्वजनिक सञ्चारमाध्यमहरूमा आएपछि गगनले कुनै राजनीतिक संरक्षण दिनु नहुने बताउँदै आइरहेका छन्। 

संसद्मा थापाले आफ्नै पार्टीबाट गृहमन्त्री बनेका रमेश लेखकलाई रवि लामिछानेका विषयमा प्रमाण के भयो भन्दै प्रश्न उठाए। 

'माननीय रमेश लेखक मेरो पछाडि हुनुहुन्थ्यो। चैत १२ गते उहाँले रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट पुलेसो कर्जा लिनुभएको छ। त्यसका विरुद्धमा पूरक उजुरी परेको छ। यो प्रमाण हो भन्नुभएको थियो। उहाँ अहिले उता हुनुहुन्छ। यता हुँदा प्रमाण हुने उता पुगेपछि प्रमाण नहुने भन्ने हुँदैन।' 

उनले गिरीबन्धु टि स्टेटका विषयमा अदालतले दिएको ०८० माघ २४ को आदेश जुन सरकार आएपनि पालना गर्नुपर्ने बताए । 

'सरकारले गिरीबन्धु यो हुन्छ, त्यो हुन्छ होइन। एक्सन चाहियो। तुरुन्त जग्गा फिर्ता ल्याउनुपर्यो। देशभरी जसले जग्गा दुरुपयोग गरेको छ, त्यो खोसिनुपर्यो,' थापाले भने।

अदालतको आदेशअनुसार सरकारले गर्नुपर्ने उनको भनाइ छ। 

गिरीबन्धुबारे तत्कालीन केपी ओली नेतृत्वको सरकारले नीतिगत भ्रष्टाचार गरेको भन्दै संलग्नहरूमाथि कारबाही गर्नुपर्ने उनले पहिलेदेखि माग राख्दै आएका छन्। त्यसैकारण पनि उनलाई सरकारमा सहभागी गराएर वर्तमान प्रधानमन्त्रीले विपक्षीको आवाज मधुर गर्न खोजेको भएपनि त्यो सम्भव भएन। 

अहिले संसद देखि सार्वजनिक अभिव्यक्ति सम्म सरकारका गलत गतिविधिलाई सहेर नबस्ने गगनले चेतावनी दिइरहेका छन्। 

साउन २८, २०८१ मंगलबार १७:३३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।