मन्त्रीपरिषद्बाट गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनासमेत स्वीकृत

मन्त्रीपरिषद्बाट गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनासमेत स्वीकृत

काठमाडौँ : मन्त्रिपरिषद् बैठकले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनासमेत स्वीकृत गरेको छ। साउन २८ को बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको महाप्रबन्धकमा धादिङका रमेश आचार्य र नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको महाप्रबन्धकमा इलामका प्रकाशप्रसाद पोखरेललाई नियुक्ती समेत गरेको छ।    

मन्त्रिपरिषद्ले सङ्घीय भूउपयोग परिषद् सदस्यमा डा रेवतीरमण पौडेल, डा यमुना घले, डा रेश्मा श्रेष्ठ र जगतबहादुर देउजालाई मनोनयन गर्ने निर्णय गरेको छ।

बैठकले यही साउन २९ देखि ३२ सम्म भुटानमा आयोजना हुने दक्षिण एसियाली निर्वाचन व्यवस्थापनसम्बन्धी निकायको बाह्रौँ सम्मेलन सहभागी हुन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई स्वीकृति दिएको छ ।    
एसियाली विकास बैङ्कबाट सिँचाइसम्बन्धी परियोजनाका लागि उपलब्ध हुने करिब १४ अर्ब ६३ करोडको सहुलियतपूर्ण ऋण र अनुमानित एक अर्ब ९९ करोड अनुदान स्वीकारका लागि वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा टोली गठन गर्ने निर्णय समेत गरेको छ।

साउन २८, २०८१ मंगलबार १७:३०:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।