प्रधानमन्त्रीले युवाहरूलाई भने '२०-३० वर्षमा बिहे गर्नुस्, छिट्टै बच्चाबच्ची पाइहाल्नुस्'

प्रधानमन्त्रीले युवाहरूलाई भने '२०-३० वर्षमा बिहे गर्नुस्, छिट्टै बच्चाबच्ची पाइहाल्नुस्'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूका लागि रोजगारी दिन साना-साना उद्यमशीलताका कार्यक्रम ल्याउन सरकारको योजना भएको बताएका छन्। 

मंगलबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित नेपाल युवा सम्मेलन, २०२४ को समापन कार्यक्रमलाई सम्बोधनमा प्रधानमन्त्री ओलीले देशमा रोजगारी र अवसर राम्रो नहुँदा युवाहरू विदेशिने क्रम चलेको भन्दै आगामी दिनमा नेपाल ज्येष्ठ नागरिकको मात्रै मुलुक बन्नसक्ने खतरा रहेको बताए। 

उनले हाल मुलुककाे जनसङ्ख्या वृद्धिदर न्यून रहेकाले सुन्दर भविष्यका लागि २० वर्षको आसपासमा विवाह गर्न र छिटो सन्तान जन्माउन युवाहरूलाई आग्रह गरे।

‘गीत गाउँछन् ४० कटेसी रमाउँला भनेर, उमेर छन्जेल विदेशमा बसेपछि जनसंख्या झन् घट्ने भो,’ ओलीले भने, ‘मेरो एउटा सुझाव छ, २०-३० वर्षमा बिहे गर्नुस् छिट्टै बच्चाबच्ची पाइहाल्नुस्। त्यसो गरेपछि काममा लागे पनि भयो, विदेश गए पनि भयो, छोराछोरी हुर्कँदै गर्छन्।’

प्रधानमन्त्री ओलीले हाल २० प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनी रहेकामा वर्षमा दुई प्रतिशतका दरले गरिबी घटाउन सक्नुपर्ने बताए। 

उनले एक वर्षभित्र सडक बालबालिकाको स्थितिलाई अन्त्य गर्ने लक्ष्य लिइएकाले बच्चाहरू अभिभावकबिहीन भएर सडकमा बस्न नमिल्ने स्पष्ट पारे।

साउन २९, २०८१ मंगलबार १७:०७:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।