आफ्नै समूहका नेता परियारलाई मन्त्री बनाउन नसकेका गगनले भने 'मन्त्रिपरिद्मा दलित छुटाइहाल्छौं'

आफ्नै समूहका नेता परियारलाई मन्त्री बनाउन नसकेका गगनले भने 'मन्त्रिपरिद्मा दलित छुटाइहाल्छौं'

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राज्यको कोषको एक रुपैयाँ पनि तलमाथि हुन दिन नहुने बताएका छन्। 

मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले बिजुली प्रयोग गर्नेको बक्यौता जसरी पनि उठाउनु पर्ने भन्दै यस विषयमा कसैलाई अन्याय नहुने हिसाबले काम गर्नुपर्ने बताए। 

उनले भने, ‘जसले बिजुली प्रयोग गरेको छ, प्रयोग गर्नेको बक्यौता नउठाउ भनेर कसैले भन्छ एक रुपैयाँ पनि छोड्न पाइँदैन। सरकारका निकायलाई पनि निर्देशन अनुसार काम गर्नुपर्छ। विधिको शासनमा चल्नु पर्छ। सरकारले यहाँ आएर स्पष्ट पार्नुपर्छ।’

थापाले संघीयतालाई यो भन्दा थप प्रभावकारी बनाउनु पर्ने भन्दै हरेक तहमा दलित र महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने बताए। 

उनले भने, ‘हामीले संसदसम्म ल्याउछौं तर, मन्त्रिपरिषद् बनाउने बेलामा संविधानमा नलेखेको हुँदा महिला छुटाई हाल्छौं। हामी जुनसुकै पार्टीको होस दलित छुटाई हाल्छौं। यो भन्दा अगाडि पुष्पकमल दाहालले गर्जिएर यहाँबाट भन्नुभयो तर, उहाँकै मन्त्रिमण्डलमा हामीले दलित छुट्टायौं। हामी यतिसम्म गर्छौं कि दुईवटा पार्टी मिलेर गठबन्धन गर्दैगर्दा राष्ट्रपति र उपराष्ट्रपति दुईजना नै पुरुष बनाउँछौँ। गाउँपालिकामा मौका मिल्नासाथ अध्यक्ष र उपाध्यक्ष पनि पुरुष बनाउँछौँ। प्रदेशका सरकार यसैगरी चलाउने हो?’

त्यसअघि पछिल्लो कांग्रेस-एमाले गठबन्धनबाट बनेको सरकारमा कांग्रेसका तर्फबाट सहमहामन्त्रीसमेत रहेका जीवन परियार मन्त्री बन्ने अन्तिम समयसम्म चर्चामा थिए। परियार कांग्रेसभित्रको शेखर कोइराला-गगन थापा समूहकै नेता हुन्। 

सुरूमा सभापति शेरबहादुर देउवाले शेखर-गगन समूहलाई ४ मन्त्री दिने भनेपछि परियार निश्चित जस्तै थिए। 

तर, आफ्नो समूहबाट ३ जना मात्रै मन्त्री पाउने भएपछि गगनकै इन्ट्रेस्टमा प्रदीप पौडेल स्वास्थ्यमन्त्री बन्दा सहमहामन्त्री परियार छुटे। जसको कारण केपी ओली नेतृत्वको २५ सदस्यीय मन्त्रिपरिषद्मा एकजना पनि फुल मन्त्री छैनन्। 

सरकारले चौतर्फी आलोचना भएपछि फेस सेभिङका लागि कांग्रेसकी रुपा विकलाई वन राज्यमन्त्री बनाएको छ। 

साउन २८, २०८१ मंगलबार १५:४३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।