विपक्षीसँग २० मिनेटको सवालजवाफपछि गले सभामुख, काटिएको समय पाएपछि हरि ढकालले के बोले?

विपक्षीसँग २० मिनेटको सवालजवाफपछि गले सभामुख, काटिएको समय पाएपछि हरि ढकालले के बोले?

काठमाडौं : मंगलबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाललाई सभामुख देवराज घिमिरेले बोल्नका लागि तीन मिनेटको समय दिए।

ढकालले आफ्नो आकस्मिक समयको सुरुमा वर्षातका कारण देशभर सडकको अवस्था दयनीय भएको भन्दै त्यसको मुख्य कारण भ्रष्टाचार भएको उल्लेख गरे। उनले यति कुरा लगभग एक मिनेटमा राखिसकेका थिए।

त्यसपछि उनी विद्युत् महसुलको विषयमा प्रवेश गर्न खोज्दै भने, ‘आकस्मिक विषयमा नजानु भन्नुहोला सभामुख महोदयले। तर, भ्रष्टाचारसँग सम्बन्धित मुद्दा आधा रातमा पनि आकस्मिक हुन्छ। विद्युत् प्राधिकरणमा म जान चाहेँ। मिटर जडान गरेर महसुल असुल गर्ने ठाउँमा...’

ढकालले यति भनेपछि सभामुखले उनलाई ‘आफ्नो विषय सकियो?’ भनेर सोध्दै रोके। त्यतिबेला सभामुखले दिएको समयमा अझै डेढ मिनेट समय बाँकी थियो ढकालको।

तर, सभामुखले यातायातको अवरुद्धको विषयमा बोल्न समय मागेको भन्दै त्यो विषय सकिएकाले बस्न आग्रह गरे अनि माइक काटिदिए।

त्यसपछि सदनमा हंगामा भयो। रास्वपा मात्र नभएर सम्पूर्ण विपक्षी बेन्च नै उठेर सार्वभौम संसदमा भ्रष्टाचारको मुद्दा उठान गर्न खोज्दा रोकिएको भन्दै आपत्ति जनाए।

आफ्ना सांसद बोल्दा समय नसकिँदै लाइन काटेपछि रास्वपा सभापति एवं पार्टीका संसदीय दलका नेता रवि लामिछानेले चर्को स्वरमा विरोध गरे। ‘बिजुलीको महसुल उठ्नुपर्छ भन्दा लाइन काट्नुपर्ने के कारण पर्यो सभामुख महोदय’ भन्दै आक्रोश पोखे।

त्यसपछि सभामुख घिमिरेले लामिछानेलाई बोल्नका लागि भन्दै दुई मिनेटको समय दिए। लामिछानेले आफूलाई दिएको दुई मिनेटको समय हरि ढकाललाई उपलब्ध गराउन आग्रह गर्दै विद्युत् महसुलको विषयमा अत्यन्त महत्वपूर्ण कुरा उठाउन लाग्दा बोल्दा बोल्दै लाइन काटिनु गम्भीर आपत्तिको विषय भएको बताए।

साथै उनले बोल्दै गरेका सांसदलाई समय तोकेर समयमा विषय सक्न भनिदिन समे उनले सुझाव दिए।

त्यसपछि सभामुख घिमिरेले राप्रपा सांसद राजेन्द्र लिङ्देनलाई दुई मिनेट बोल्न समय दिए। सांसद् लिङ्देनले आकस्मिक समयमा यो विषयमा मात्रै बोल्न पाउँछौ भनेर लेखाएर बोल्न लगाउने व्यवस्था मान्य नहुने बताए।

उनले भने, ‘जनताका प्रतिनिधिले आफ्ना कुरा राख्छन्। त्यो संविधान विपरीत र संसदको नियमावली विपरीत भयो भने सभामुखले प्रतिबन्ध लाउने वा रोक्ने आफ्नो ठाउँमा छ,’ उनले भने, ‘तर, यो विषय बोल्न पाउछौ, यो विषय बोल्न पाउँदैनौ भन्ने विषय मान्य हुन्न सभामुख महोदय।’

लगत्तै सभामुखले आकस्मिक समयमा कस्ता विषय राख्ने भन्नेबारे नियमावली पढेर सुनाउँछन्। जसमा दुई वटा सदनका बीचमा भएका गम्भीर विषयलाई उल्लेख गर्नुपर्ने भनेर लेखिएको छ।

​​​​​​सभामुखले पढेर सुनाएपछि रास्वपा सांसदले दुई वटा सदनका बीचमा भएका घटनालाई नै सदनमा राख्न खोजेको बताए। साथै समय पूरा नभई लाइन किन काटियो भन्दै सभामुख घिमिरेमाथि प्रश्न गरिरहे।

सभामुखले संसद सचिवालयका कर्मचारीसँग ‘रोकिदिउँ कि क्या हो? रोकेर फेरि चलाउने कि नचलाउने भनेर जाउँ, किन जबरजस्ती गर्नू!’ भनेर सल्लाह गरे। यो कुराकानी लाइभमा स्पष्ट सुनिएको थियो। उनले सांसदहरूले उठाएको विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै पुनः बस्ने आग्रह गरे।

विशेष समयमा दुई घण्टाको समयमा दलीय हिसाबले विषय राख्न भन्दै सभामुख घिमिरेले पटक-पटक सभाको मर्यादा कायम राख्न समेत आग्रह गरे। त्यसको पनि काउन्टर दिँदै प्रतिपक्षी सांसदहरूले ‘सार्वभौम सांसदले आफूले उठाइरहेको विषयलाई पूरा गर्न पाए मात्र सभाको मर्यादा कायम हुन्छ सभामुख महोदय’ भने।

त्यसपछि सभामुख घिमिरेले संसद सचिवालयका कर्मचारीसँग लामो सल्लाह गरे अनि सांसद हरि ढकाललाई आफ्नो विषय टुंग्याउन समय दिए। त्यसपछि मात्र सांसदहरू आफ्नो सिटमा बसे।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् प्राधिकरणले महसुल नबुझाएको भन्दै लाइन काटेका उद्योगमा बिजुली लाइन जोड्न निर्देशन दिएर विद्युत् प्राधिकरणका दुई सदस्यलाई बर्खास्त गरेपछि सत्तापक्ष र विपक्षीबीच बिजुली महसुलको विषयमा पटक-पटक बहस भइरहेको छ।

सभामुख घिमिरे एमालेका पूर्व सदस्य हुन्। उनी ओ‌ली निकट मानिन्छन्।

ढकालले के बोले?
समय पाएपछि बोल्दै सांसद ढकालले अझै ठूलो र कडा रूपमा आफ्ना विषय भ्रष्टाचार, बिजुली र महसुलकै भएको बताउँछन्।

‘विषय त भ्रष्टाचार नै हो, महसुल नै हो, बिजुली नै हो। समितिमा ब्यापक छलफल भएको छ। तिर्नुपर्ने उद्योगीहरूले तिर्नु पर्दैन भनेका नि छैनन्,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले जसरी बिजुलीको लाइन जोड्न निर्देशन दिनुभाथ्यो, महसुल उठाउनका लागि पनि उसैगरी निर्देशन दिनुपर्यो, कहाँ कहाँ दिने हो।’

मिटर जडान गरिएको ठाउँको महसुल उठाउनका लागि यो हालत छ यो देशमा। मिटर नभाको भन्सार हेरौं त, मिटर नभाको मालपोत कार्यालय हेरौँ त। के छ हालत।

अनि भ्रष्टाचारसँग सम्बन्धित विषय सदनमा प्रवेश गराइरहँदा अबका दिन प्रतिपक्षले उठाउन लागेको सुशासनको मुद्दा र भ्रष्टाचारका विषयमा यो खालको रबैया कृपया नदेखाइयोस्। प्रतिपक्ष कमजोर छैन।

समितिका बैठकमा सहभागी हुँदा, त्यहाँ नौ वटा संरचनाले यो विषय हेरेका रैछन्। सबै जना ग्रे लाइनमा बसेका रछन्। २२ अर्बको बक्यौता १६ अर्ब हुँदै ६ अर्बमा झर्दा पनि असुल गर्न कसैलाई चासो नभएको विषय सदनमा आकस्मिक विषय बन्न सक्दैन? आकस्मिक विषय बन्छ। करदाताहरूको करमाथि लामो हात गर्ने विषय सधैँ आकस्मिक बन्छ सभामुख महोदय।

साउन २८, २०८१ मंगलबार १४:५६:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।