...त्यसपछि प्रतिपक्षसँग झुके सभामुख घिमिरे!

...त्यसपछि प्रतिपक्षसँग झुके सभामुख घिमिरे!

काठमाडौं : मंगलबारको संसद बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले ‘विद्यु्त् महसुल’ भन्ने बित्तिकै सभामुख देवराज घिमिरेले लाइन काटे। सांसद ढकालले विद्युत् प्राधिकरणको महसुल उठाउनुपर्ने विषय उठान गर्न लाग्दा सभामुखले लाइन काटेपछि रास्वपासहित राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध जनाए।

त्यसपछि सभामुख घिमिरेले रास्वपा सभापति रवि लामिछानेलाई बोल्न समय दिए। उनले सांसद हरि ढकालले विद्युत् महसुलको विषय उठाउने बित्तिकै सभामुखले माइक काटिदिएको भन्दै विरोध जनाए। 

‘बिजुलीको लाइनको विषय सुन्न पाएको छैन,’ उनले भने, ‘लाइन किन काटियो?’

त्यसपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सभामुखले निश्चित विषयमा मात्र बोल भनेर जनताको आवाज कुन्ठित पार्न खोजिएको आरोप लगाए।

सभामुख घिमिरेले तीन मिनेटको समय उपलब्ध गराएकोमा विद्युत् महसुलको विषय आउने बित्तिकै समय काटेका थिए। तर, सभामुखले दिएको तीन मिनेटको समय भने सकिएको थिएन।

बोल्न नदिएको भन्दै प्रमुख प्रतिपक्षी दल माओवादीसहितका प्रतिपक्षी दलहरूले अवरोध गरेपछि बैठकमा सभामुख घिमिरे र सांसदहरूबीच केहीबेर सवाल-जवाफ नै चल्यो।

प्रतिपक्षी दलहरूका सांसदहरूले निरन्तर अवरोध जारी गरेपछि बैठक नै संचालन हुन नसक्ने परिस्थिति देखिएपछि अन्ततः सभामुख घिमिरेले ढकाललाई पुनः समय दिन बाध्य भए।

त्यसक्रममा सांसद ढकालले भ्रष्टाचारसम्बन्धी संसद्मा उठाउन लाग्दा प्रतिपक्षमाथि समय नदिएर दबाउन खोजिएको भन्दै बिजुलीको महसुल उठाउन प्रधानमन्त्रीले निर्देशन दिन आग्रह गरे। 

ढकालले भने ‘काटिएको विद्युत् लाइन जोड्न प्रधानमन्त्रीले जसरी निर्देशन दिए, उसैगरी महसुल तिर्न पनि निर्देशन दिनुपर्यो।’  

साउन २८, २०८१ मंगलबार १४:३५:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।