भारतले चासो नदिँदा अलपत्र पर्‍यो राप्ती नदी नियन्त्रण आयोजना, एक हजार परिवार डुबानको सङ्कटमा

भारतले चासो नदिँदा अलपत्र पर्‍यो राप्ती नदी नियन्त्रण आयोजना, एक हजार परिवार डुबानको सङ्कटमा

राँझा (बाँके) :  बाँकेको राप्ती सोनारी–७ फत्तेपुरको पिप्रहवा गाउँ निवासी दुर्गाप्रसाद पाण्डेको उमेर ६० वर्ष कटिसकेको छ। उनी बुझ्ने भएदेखि अहिलेसम्म राप्ती नदीको बाढी गाउँमा पसेर डुबाउने चिन्ताले छोडेको छैन।

‘म बुझ्ने भएदेखि राप्ती नदीको बाढी, डुबान र कटानको समस्या झेल्दै आएको छु, यो समस्या कम भएको छैन झन् बढ्दै गएको छ’, पाण्डेले भने, ‘पहिला नदी टाढा थियो, चिन्ता अलि कम थियो अहिले नदी नजिकै आएर कटान गरिरहेको छ, चिन्ता झन् बढ्दै गएको छ।’

नदीको कटान नियन्त्रणका लागि बनाइएको तटबन्ध दुई वर्षअघि आएको बाढीले बगाएपछि अहिले नदीले खेतीयोग्य जमिन कटान गर्दै गाउँतिर सोझिएको उनले बताए। दुई वर्षअघि बाढीले भत्काएको तटबन्ध पुनः निर्माण हुन नसक्दा नदीमा ठुलो बाढी आउँदा गाउँमा पस्ने खतरा बढ्दै गएको छ।

राप्तीको तल्लो तटीय क्षेत्रमा पर्ने राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको खेतीयोग्य जमिन नदीले दिनहुँ जसो कटान गरिरहेको देखिन्छ। राप्ती सोनारी गाउँपालिका–७ नयाँ बस्तीका शङ्कर यादवका अनुसार अहिलेसम्म सयौँ बिघा खेतीयोग्य जमिन नदी कटानमा परिसकेको छ।

‘विगतमा बाढी रोकथामका लागि लगाइएको तटबन्ध भत्किएर बगिसक्यो, राप्ती नदी अब कटान गर्दै गाउँतिर सोझिएको छ’,यादवले भने, ‘ठुलो बाढी आयो भने गाउँमा पसेर बगाउँछ भन्ने चिन्ताले बर्खामा राम्ररी निदाउन पनि सकिन्न।’

दिउँसो नदीमा बाढी आएको थाहा हुने भए पनि राति धेरै समस्या हुने यादवको भनाइ छ।

दुई वर्षअघि आएको बाढीले तटबन्ध भत्काएपछि यतिबेला राप्ती सोनारी–७ मा पर्ने देउपुर्वा, खल्ला झगडिया, ननकौपुर, पिप्रहवा र नरैनापुर गाउँपालिकामा पर्ने कुदरबेटवा, जमुनी, गङ्गापुर, सोनवर्षालगायत गाउँका करिब एक हजार परिवार सङ्कटमा छन्।

नदीले कुनै क्षेत्रमा वारि त कुनै क्षेत्रमा पारितर्फ जमिन कटान गर्दै आएको राप्ती सोनारी गाउँपालिका–७ झगडिया गाउँका अगुवा दीपेन्द्र पाण्डे दीपुले बताए।

‘राप्ती सोनारीको विसम्मवरपुर र पदनाहा गाउँनजिक रहेको तटबन्ध राप्ती नदीले भत्काएको थियो। त्यहीँबाट राप्तीले डुबान र कटान तीव्र पारेको छ’, पाण्डेले भने, ‘नदी नियन्त्रण गर्ने तटबन्ध नभएका कारण बाढी आउनासाथ बस्तीमा पस्ने खतरा बढेको छ।’

बर्खा सुरु हुनासाथ राप्ती नदीले राप्ती सोनारी गाउँपालिका–२ कचनापुरको अगैया, गोबरपुर, माथेवास, खोरिया, मदुई, हरिहरपुर, अम्रहवा, टिकुलीपुर, शम्शेरगञ्ज र राजपुर क्षेत्रमा डुबान र कटान गर्ने गरेको छ। ‘नदी किनारमा तटबन्ध नहुँदा प्रत्येक वर्ष बाढीले दुवै किनारको सयौँ बिघा खेतीयोग्य जमिन कटान गर्ने गरेको छ’, स्थानीय अगुवा रामदास थारूले भने, ‘नदी नियन्त्रणका लागि जनताको तटबन्ध कार्यालयलाई हामीले आग्रह गरे पनि चासो दिएका छैनन्।‘

राप्तीपारि बैजापुर, बिनौना क्षेत्रमा तटबन्ध निर्माण भएपछि राप्ती नदीको भँगालो कचनापुर क्षेत्रतिर फर्केर कटान गर्न थालेकाले राप्ती नदीको कटान नरोकिए मानव बस्तीसमेत जोगाउन कठिन हुने उनले दाबी गरे।

बस्ती जोगाइदिन माग

राप्ती नदी प्रभावित नागरिकले जनप्रतिनिधि र प्रहरी प्रशासनका अधिकारीसँग तटबन्धन निर्माण नभए ठुलो बाढी आउनासाथ राप्ती नदीले गाउँ डुबान गर्ने भएकाले तत्काल पहल गर्न माग गर्दै आएका छन्।

बाँके-१ का प्रतिनिधिसभा सदस्य सूर्य ढकाल, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायत विभिन्न दलका नेताले निरीक्षण गरे पनि अहिलेसम्म काम अगाडि बढ्न नसकेकामा स्थानीयवासी दुःखी देखिए।

‘सांसददेखि जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूले निरीक्षण गरेर फर्किनुभयो तर अहिलेसम्म काम अगाडि बढेन। बेलैमा काम अगाडि नबढे धेरै क्षति हुने निश्चित छ’, नरैनापुर-६ गङ्गापुरका अगुवा सोहनलाल यादवले भने, ‘डुबानबाट बस्ती जोगाइदिन हामीले सबैसँग हारगुहार गर्यौँ तर हाम्रो दुःख राज्यले सुनेन।’

तटबन्ध निर्माण नभएका कारण राप्ती सोनारीको ६ र ७ नम्बर वडाका सर्रा, भवानीयापुर, पहाडीपुर, वसन्तापुर, गेदवा, खल्ला झगडिया, देउपुर्वालगायतका गाउँ र नरैनापुर गाउँपालिकाको गङ्गापुर, सोनवर्षा, कुदर–वेटवा, कुडुवालगायत बस्ती जोखिममा देखिन्छन्।

बस्ती जोगाउन निर्माण भएको तटबन्ध भत्किएका कारण राप्ती नदीमा ठुलो बाढी आयो भने राप्तीसोनारी गाउँपालिका-६ र ७ मा रहेका बस्तीमा ठुलो क्षति हुने अवस्था आएको वडा नम्बर ७ का अध्यक्ष रामलखन थारूले बताए।

बाँकेस्थित राप्ती नदीको आसपासका स्थानीयले हरेक वर्षको बर्खायाममा नदीमा आउने बाढीका कारण जग्गा कटान हुने र डुबानको समस्या भोग्ने नियति जस्तै बनेको राप्ती सोनारी गाउँपालिका-६, जरैयाका स्थानीय भक्तिराम पाण्डेले बताए। गत वर्षको बाढीले आफ्नो एक बिगाहा जमिन नदीले कटान गरेर लगेको पाण्डेले बताए। उनले बाँकी रहेको एक बिगाहा जमिनतिर नदी सोझिएकाले कतिबेला त्यो पनि लैजान्छ भनेर हेर्नुको विकल्प नभएको बताए।

राप्तीसोनारी गाउँपालिका-६ स्थित नटीको किनारमा पर्ने खल्लाटेपरी, जरिया र ढलेया बाढीबाट अत्यन्तै जोखिममा रहेको वडाध्यक्ष लवराज खरेलले बताए। खल्लाटेपरीमा जनता तटबन्धको ड्याम भए पनि बाढीले तारजालीसमेत भत्काउँदा जोखिम बढेको उनले बताए।

राप्ती नदी नियन्त्रण आयोजना अलपत्र

बाँकेमा राप्ती नदीले गर्दै आएको कटान नियन्त्रण गर्न पश्चिम राप्ती नदी नियन्त्रण आयोजना बने पनि काम सुरु भएको छैन। आयोजनाअन्तर्गत राप्ती नदीको कटान नियन्त्रणका लागि करिब ३५ किलोमिटर तटबन्ध र अन्य संरचनाहरू प्रस्ताव गरिएको छ।

भारत सरकारको जल संसाधन, नदी विकास एवं गङ्गा संरक्षण विभागसँगको सम्झौताअनुसार नेपाल सरकारले आयोजना कार्यान्वयनको प्रक्रिया अगाडि बढाएको थियो। आर्थिक वर्ष ०८४-८५ मा सम्पन्न गर्ने गरी १० अर्ब ४४ करोड ८१ लाखको लागतमा आयोजनाअन्तर्गत बाँकेको राप्ती सोनारी, डुडुवा र नरैनापुर गाउँपालिकामा राप्ती नदीमा बायाँतर्फ १५ दशमलव चार सय ६२ किलोमिटर र दायाँतर्फ १९ दशमलव तीन सय ७१ किलोमिटर गरेर जम्मा ३४ दशमलव आठ सय ३३ किलोमिटर तटबन्ध गरिने योजना देखिन्छ।

पानीको प्राकृतिक प्रवाह नै अवरुद्ध हुनेगरी भारतले बाँकेको होलिया नजिकै एकतर्फी रूपमा १३ किलोमिटर लामो कलकलवा तटबन्ध निर्माण गरेपछि नेपालबाट दक्षिण बग्ने खोलानालाको प्राकृतिक प्रवाह रोकिनाले नेपाली भूमि डुबानमा पर्दै आएको छ।

नेपाल सरकारका तर्फबाट पटक–पटकको प्रयासपछि डुबान, कटान र पटानले सङ्कट निम्त्याउँदै आएको बाँके जिल्लास्थित राप्ती नदीमा पक्की तटबन्ध निर्माण गर्न भारत सरकार गत वर्ष सहमत भएको थियो । सोही सहमतिअनुसार नेपाल सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने प्रारम्भिक कार्य सुरु गरेको देखिन्छ। तर भारतले चासो नदिँदा तटबन्धको काम अलपत्र परेको छ। 

*राससको फिचर सम्पादन सहित प्रकाशित गरिएको हो।

साउन २८, २०८१ मंगलबार १३:४१:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।