बी एण्ड बी अस्पतालले सुरुवात गर्यो नेपालमा पहिलो रोबोटिक शल्यक्रिया
ललितपुर : बी एण्ड बी अस्पतालले नेपालमा पहिलो पटक सफलता पूर्वक रोबोटिक शल्यक्रियाको सुरुवात गरेको छ।
सोमबार एक विज्ञप्ति निकालेर अस्पतालले सफलता पूर्वक रोबोटिक शल्यक्रियाको सुरुवात गरेको जानकारी दिँदै यो उपलब्धि नेपालको चिकित्सा क्षेत्रमा ऐतिहासिक कोसेढुङ्गा बनेको उल्लेख गरेको हो।
अस्पतालले गरेको रोबोटिक शल्यक्रियाको शुरुवातले नेपालमा चिकित्सा अभ्यासको अग्रभागमा अत्याधुनिक प्रविधि ल्याएको अस्पतालको दाबी छ।
यस अत्याधुनिक शल्यक्रिया प्रविधिले सुक्ष्म शल्यक्रियाको प्रक्रियालाई पनि अत्यन्त सटीकताका साथ सम्भव बनाउने, रिकभरी समय कम लगाउने र बिरामीका लागि छिटो स्वास्थ्यलाभ हुने बताइएको छ।
उच्च प्रशिक्षित सर्जनहरूद्वारा सञ्चालित रोबोटिक प्रणालीले जटिल शल्यक्रियामा सटिकता र दक्षता सुनिश्चित गर्दै स्वास्थ्य सेवाप्रदान गर्ने नयाँ मापदण्ड स्थापित गरेको छ।
यस बारेमा बोल्दै बी एण्ड बी अस्पतालका प्रा. डा. जगदीशलाल वैद्यले नेपालमा रोबोटिक शल्यक्रिया प्रदान गर्ने पहिलो अस्पताल हुन पाउँदा उत्साहित भएको बताए।
‘यो नवीन प्रविधि हाम्रा बिरामीहरूलाई विश्वस्तरीय चिकित्सा सेवाप्रदान गर्ने प्रतिबद्धतामा महत्वपूर्ण कदम हो,’ उनल भने, ‘रोबोटिक शल्यक्रियाले न केवल शल्यक्रिया प्रक्रियाको गुणस्तर बढाउनेछ, यसले परम्परागत शल्यक्रियासँग सम्बन्धित जोखिम र रिकभरी समयलाई पनि कम गर्नेछ।’
साउन २८, २०८१ मंगलबार १०:५३:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।