बिहे भाको छैन : ‘छक्का पञ्जा’ सिरिजकै कमजोर प्रोमोशनल गीत

बिहे भाको छैन : ‘छक्का पञ्जा’ सिरिजकै कमजोर प्रोमोशनल गीत

काठमाडौं : दीपकराज गिरी र दीपाश्री निरौला पछिल्लो एक दशकदेखि नेपाली फिल्म क्षेत्रम ब्रान्ड बनेका छन्। उनीहरुले कुनै फिल्म ‘छोयो कि चल्यो’ भन्ने भाष्य निर्माण भएको छ। भएको पनि त्यस्तै छ। अहिलेसम्म उनीहरुका फिल्मलाई दर्शकले राम्रै साथ दिइरहेका छन्।

दीपक-दीपाको टिम फिल्मको प्रचारका लागि गीत पहिलो प्राथमिकता दिनुपर्छ भन्नेमा सचेत छन्। यसअघि पनि उनीहरूले फिल्मकै सबैभन्दा उत्कृष्ट गीतलाई प्रोमोशनल गीतमा रुपमा रिलिज गर्ने गरेका छन्। पहिलो फिल्मबाहेक अहिलेसम्म आएका सबै फिल्मको गीत दर्शकले रुचाएका पनि छन्, चाहे त्यो ‘वडा नम्बर छ’को ‘सुर्के थैली होस् वा ‘छक्का पञ्जा ४’को ‘दर्शन सलाम’ नै किन नहोस्।

विवाह, ब्रतबन्ध, गाउँघरमा हुने सांस्कृतिक कार्यक्रमदेखि शहरका पार्टी प्यालेसमा समेत ती गीतहरूको एकछत्र राज थियो भन्दा फरक पर्दैन। ‘वडा नम्बर ६’ देखि ‘छक्का पञ्चा ४’ सम्म आइपुग्दासम्म गीतमा खोट लगाउने ठाउँ थिएन।

तर, हालै रिलिज गरिएको ‘छक्का पञ्जा ५’को गीत ‘बिहे भाको छैन’ बोलको गीतले भने उनीहरुको यसअघिको फिल्मको गीतको दर्शकलाई खासै सन्तुष्ट दिने किसिमको छैन। उनीहरु दर्शकको अपेक्षा अनुसारको गीत बनाउन यसपटक चुकेका छन्। यसपालीको गीत त्यो ‘पन्च’ भेटिँदैन जुन, यसअघिका उनीहरूको फिल्मको गीतमा हुन्थे।

दीपक दीपाको फिल्म हलमा लाग्दैछ भन्दा अरु फिल्ममेकरको सातो जान्थ्यो। गीत सुनेकै भरमा दर्शकहरू हलमा पुग्थेँ। यस पटक त्यतिको दमदार गीत बनेको सुनिदैँन। गीत र भिडियो कमसल बनेको देखिन्छ।

युट्युब कमेन्टमा पनि केही दर्शकले फिल्मको गीतलाई पहिलोको जस्तो नभएको प्रतिक्रिया दिएका छन्। एक प्रयोगकर्ता वासुदेवले लेखेका छन्, ‘छक्का पञ्जा ४ को जति राम्रो छैन यो गीत।’

युट्युबमा नेपाली ठिटो नामक एक प्रयोगकर्ताले कमेन्टमा लेखेका छन्, ‘पहिलाको सिरिजको जस्तो राम्रो लागेको यसपालिको गीत।’ उनको कमेन्टमा रिप्लाइ दिँदै अर्का प्रयोगकर्ता आईपी गौतमले लेखेका छन्, ‘मुभी राम्रो होला अपेक्षा गरौँ।’

गीत कता-कता तीन वर्षअघि गायक शम्भु राईले गाएको ‘झिल्के साडी’बोलको गीतसँग मिल्दोजुृल्दो पनि सुनिन्छ। सविन सुवेदी र बेनिशा पौडेलको स्वर रहेको यो गीतमा दीपकराज गिरी र दीपक शर्माको शब्द, दीपक शर्माकै संगीत सुन्न सकिन्छ।

दीपकराज गिरी र वर्षा सिवाकोटीको अभिनय रहेको फिल्ममा दीपाश्री निरौलाको निर्देशन, दीपकराज गिरीको पटकथा, दीपकराज गिरी, केदार प्रसाद घिमिरे र दिलीप तामाङको कथा, पटकथा र संवाद रहेको छ।

साउन २८, २०८१ मंगलबार १०:४२:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।