सहकारी ठगीमा जेलमा रहेकाहरूको संसदीय समितिसँग सर्त, बचत फिर्ताका लागि बाहिर निकाल्नु

सहकारी ठगीमा जेलमा रहेकाहरूको संसदीय समितिसँग सर्त, बचत फिर्ताका लागि बाहिर निकाल्नु

काठमाडौं : सहकारीको बचत रकम दुरुपयोग सम्बन्धी छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कारागारमा रहेका सहकारीका पदाधिकारीहरूलाई बाहिर झिकाएर बयान लिन थालेको छ।

समितिले छानबिनको क्षेत्राधिकार तोकिएका सहकारीका सञ्चालक र सेयर सदस्यहरू जो कारागारमा छन् उनीहरूलाई सिंहदरबारमा रहेको समितिको कार्यालयमा बोलाएर बयान लिन थालेको हो।

समितिका अध्यक्ष सूर्य थापाका अनुसार सोमबारसम्मका पुर्पक्षका लागि कारागारमा रहेका विभिन्न सहकारीका सात जना सञ्चालकहरूलाई बोलाएर बयान लिइएको छ।

सोमबार समितिले पुर्पक्षका लागि कारागारमा रहेका कान्तिपुर सेभिङका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी, आइडियल यमुनाका केवी उप्रेती र सिभिल सेभिङ्सका संस्थापक अध्यक्ष इच्छाराज तामाङलाई कारागारबाट बोलाएर सोधपुछ गरेको थियो।

समितिले शनिवार पशुपति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा कान्तिपुर सेभिङ एन्ड कोअपरेटिभका पूर्व अध्यक्ष सीबी लामा भनिने चन्द्रबहादुर तामाङ, नागरिक विकास सहकारी संस्थाका अध्यक्ष नुनम सुब्बा, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, कौशलटार भक्तपुरका शेयर सदस्य तथा ऋणी केदारनाथ शर्माकी श्रीमती गीता शर्मा र तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई कारागारबाट समितिमा झिकाएर बयान लिएको थियो।

समितिका सभापति एमाले सांसद सूर्य थापाले कारागारमा रहेका सहकारीका सञ्चालकहरूले कारागारबाट बाहिर निस्कने वातावरण बनाएमा एक वर्षदेखि तीन वर्षकोबीचमा समस्या समाधान गर्ने दाबी गरेको बताए।

‘उहाँहरूले कारागारमा रहेर समस्या समाधान गर्न नसक्ने र सरकारले कारागार बाहिर आउने वातावरण बनाएमा एक वर्षदेखि बढीमा तीन वर्षकोबीचमा बचतकर्ताहरूको बचत फिर्ताको समस्या समाधान हुने बताउनुभयो,’ थापाले भने।

कान्तिपुरको अवस्था सहज

सञ्चारकर्मीहरूसँग समितिको गतिविधिबारे जानकारी दिँदै सांसद थापाले कान्तिपुर सेभिङका अध्यक्ष ठकुरीसँगको बयानमा सहकारीको १० अर्बको सम्पत्ति रहेको तर ८ अर्बको मागदावी रहेको दाबी गरेको जानकारी दिए।

सहकारीले सहकारी बैङ्कमा राखेको धितोको आधारमा समेत कान्तिपुरको अवस्था अन्यको सहकारीको जस्तो नदेखिएको भन्दै थापाले ठकुरीसँगको बयानमा एक्कासि पक्राउ गरेर कारागारमा राखेकाले समस्या समाधान गर्न नसकिएको र कारागारबाट बाहिर निस्कने वातावरण भएमा बचत फिर्ता गर्न सकिने दाबी गरेको बताए।

सोमबारै समितिले सिभिल सहकारीका संस्थापक अध्यक्ष इच्छाराज तामाङसँग समेत बयान लिएको थियो। बयानकाक्रममा उनले सुन्धारामा रहेको सिभिल बिजनेस कम्प्लेक्समा सिभिल सहकारीको ७५ % लगानी रहेको र मासिक भाडा मात्रै चार करोड उठे पनि सो रकम सहकारीको खातामा नगएको बताएको थापाले जानकारी दिए।

‘उहाँले मासिक भाडा उठ्छ तर त्यो सहकारीको खातामा नगई बिचैमा हराएको बताउनुभयो,’ उनले भने।

केवी उप्रेतीले पाँच वटा सहकारी मर्ज भएर यमुना आइडल सहकारी बनेको र सहकारी विभागमा डिमर्ज गर्न प्रस्ताव गर्दा नभएको भन्दै डिमर्ज भएको भए एक सहकारीमा मात्र बचत फिर्ताको समस्या हुनेमा डिमर्ज नहुँदा पाँचै वटा सहकारीमा समस्या भएको दाबी गरेका थिए।

व्यक्तिगत सम्पत्तिबाट सुमेरुको बचत फिर्ता गर्ने राजबहादुर दाबी
सोमबार समितिले सुमेरु सहकारीको समस्याबारे त्यसका सेयर सदस्य राजबहादुर सिंहसँग छलफल गरेको थियो। बचतकर्ताको रकम दुरुपयोग गरेर सुमेरुका संस्थापक अध्यक्ष भरत महर्जन श्रीमती, छोरा, छोरी अनि ज्वाइँसहित बेलायत भागेका छन्।

अहिले सुमेरु सहकारीमा सिंह समूह प्रवेश गरेर व्यवस्थापनको जिम्मा लिएका छन्। सोमबारको छलफलमा सिंहले पहिला व्यक्तिगत लगानीबाट बचतकर्ताको रकम फिर्ता गरेर विश्वासको वातावरण बनाएर दसैँसम्ममा निष्कर्षमा पुर्याउने वचन दिएको बताए।

नयाँ समूह सहकारीमा आएको र बचतकर्ताहरूको समस्या समाधानको प्रयास सुरु भइसकेको भन्दै सिंहले समितिमा सहकारी पून नियमित रूपमा सञ्चालन गर्न निजी लगानीबाट बचत फिर्ता गर्ने र सम्पत्ति व्यवस्थापन गरेर संस्था सञ्चालन गर्ने प्रतिबद्धता जनाएको बताए।

सहकारीका पूर्व अध्यक्ष हेमराज दाहाल, कृष्णप्रसाद कँडेल र प्रस्तावित अध्यक्ष वीरेन्द्र महर्जनसहितलाई पहिला बेलायतमा रहेका भरत महर्जन र राजमाया महर्जनसहितलाई नेपालमा फिर्ता बोलाएर समितिको छानबिनको दायरामा ल्याउन सहजीकरण गर्न भनेको समितिका अध्यक्ष थापाले बताए।

उनले सहकारीको रकम अपचलनको अभियोगमा काठमाडौँ उपत्यका बाहिरका विभिन्न कारागारमा रहेकाहरूलाई समेत काठमाडौँमा झिकाएर बयान लिने तयारी भइरहेको जानकारी दिए। मङ्गलवार पोखराको कारागारमा रहेका सूर्य दर्शन सहकारीका व्यक्तिलाई झिकाउने तयारी भएको थापाले जानकारी दिए।

साउन २७, २०८१ सोमबार २२:१५:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।