मधेश : सरकार जनमतको, विरोध जसपा नेपालको!

मधेश : सरकार जनमतको, विरोध जसपा नेपालको!

काठमाडौं : मधेश सरकारले जम्बो मन्त्रिपरिषद् गठन गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालका युवा र विद्यार्थी संगठनले सिटी जुलुस निकालेका छन्।

संघीयतालाई बदनाम गराउने षड्यन्त्र स्वरूप प्रदेश सरकारले २० सदस्यीय मन्त्रिपरिषद् गठनविरूद्ध उनीहरूले प्रदर्शन गरे।

आफूहरूले कुर्सी जुलुस निकालेर सरकारलाई मन्त्रिपरिषद् सानो बनाउन खबरदारी गरेपनि आफूहरूको माग नसुनेकाले सिट्ठी जुलुस निकालेको समाजवादी युवासंघ मधेशका कार्यवाहक अध्यक्ष कमलेश यादवले बताए।

मुख्यमन्त्रीलाई पदमा बसिरहने अधिकार नरहेको भन्दै उनले तत्काल राजीनामा दिन माग गरे। 

प्रदर्शनका क्रममा उनीहरू निषेधित क्षेत्र तोड्दै जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि पुगेका थिए। 

त्यस क्रममा जसपा नेपालका युवा, विद्यार्थी र सुरक्षाकर्मीबीच सामान्य झडपसमेत भएको छ। 

मधेशमा अहिले सिके राउत नेतृत्वको जनमत पार्टीका नेता सतिशकुमार सिंह मुख्यमन्त्री छन्। त्यस सरकारमा जनमतसहित कांग्रेस, एमाले र लोसपा सहभागी छन्। 

तर, विगत ७ वर्षदेखि मधेश सरकारको बाघडोर सम्हाल्दै आएको जसपा नेपाल भने अहिले प्रतिपक्षमा छ। जसकारण उसले सरकारका पछिल्ला केही गतिविधिको आलोचना गर्दै आएको छ।  

साउन २८, २०८१ सोमबार २१:५२:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।