८ वर्षपछि नेपथ्यले अमेरिकाको सानफ्रान्सिस्कोमा रच्यो शानदार इतिहास!

८ वर्षपछि नेपथ्यले अमेरिकाको सानफ्रान्सिस्कोमा रच्यो शानदार इतिहास!

काठमाडौं : नेपथ्यले थालेको शृंखलाबद्ध अमेरिका यात्राको दोस्रो प्रदर्शन सानफ्रान्सिस्को शहरमा सम्पन्न भएको छ। यस ठाउँमा नेपथ्यले ८ वर्षअघि पनि प्रस्तुति दिएको थियो। 

शनिबार बेलुकी नौ बजे वाद्यवादकहरूले निकालेको धुनकै बीच गायक अमृत हलमा प्रवेश गरे अनि गाउन सुरू गरे, ‘कोशीको पानी यो जिन्दगानी’। एक घण्टा पहिलेदेखि उल्लेख्य संख्यामा दर्शक उपस्थित भइसकेको हलमा पहिलो प्रस्तुतिदेखि नै संगीतप्रेमीहरू जोसिइसकेका थिए। 

कार्यक्रममा ‘भेँडाको ऊन’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरि’, ‘लामपाते सुरती’ हुँदै अगाडि बढेपछि अन्तिम लहरमा ‘मै नाचेँ छमछमी’, ‘रेशम’, ‘तालको पानी’ हुँदै अन्त्यमा ‘रातो र चन्द्रसूर्जे’बाट बिट मारिएको थियो। ब्यान्डको स्थापनाकालदेखि हालसम्मका नयाँ–पुराना गरेर १७ वटा गीत प्रस्तुत गरिएका थिए।

कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।

अबको तेस्रो प्रस्तुति ओहायो राज्यको राजधानी कोलम्बसमा हुनेछ। त्यहाँस्थित ‘केम्बा लाइभ कन्सर्ट भेन्यू’मा ब्यान्डले अगस्ट १७ तारिखका दिन आफूलाई प्रस्तुत गर्नेछ। 

त्यसपछि क्रमशः डालास, न्युयोर्क, मेरिल्यान्ड र अन्त्यमा पेन्सिलभानियाको ह्यारिसबर्गमा प्रस्तुत हुनेछ।

साउन २८, २०८१ सोमबार २१:१४:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।