जब अरुणको वर्कसपमा ‘बाबुराम’ को डोजर चल्यो अनि लोदर लाग्यो, महिनाको लाख कमाउने उनलाई भाडा तिर्नै धौधौ भयो

जब अरुणको वर्कसपमा ‘बाबुराम’ को डोजर चल्यो अनि लोदर लाग्यो, महिनाको लाख कमाउने उनलाई भाडा तिर्नै धौधौ भयो

कमलपोखरी जाने बाटोको कुनामा छ, अरुण दासको ॐ मोटरसाइकल वर्कसप। उमेरले ४५ वर्ष लागेका अरुणको स्थायी ठेगाना काठमाडौँ हैन, सुनसरी इनरुवा हो। तर उनी काठमाडौँ आएकै ३१ वर्ष भयो।

१४ वर्षको उमेरमा नातामा दाइ पर्नेको साथ लागेर काठमाडौँ छिरेका अरुण यतै रल्लिए। काम सिके अनि वर्कसप सुरु गरे। श्रीमती निजी संस्थामा सहयोगीको काम गर्छिन्। दुई सन्तानलाई यही पेसाको आम्दानीले शिक्षा दिए। अहिले अरुणकी छोरी प्लस टु सकेर काम गर्दैछिन्।

 ‘१२ पढी सकिन्, काम गरेकी छिन्। विदेश जान आफ्नो सम्पत्ति छैन, छोरीले पनि यही काम गरेकी छिन्। बेलाबेलामा पसल बढाउनु पर्छ बाबा भन्छिन्, खुसी लाग्छ’ उनले भने।

अहिले जुन वर्कसप अरुणले चलाउँछन् त्यो पहिला नातामा दाइ पर्नेहरूले चलाएका रैछन्। पछि उनीहरू अन्य काममा लागे। वर्कसपको जिम्मा उनले पाए।

 १४ वर्षको उमेरमै सहयोगी

अरुण आफ्नो उमेर ४५ भन्छन् तर जन्ममिती ठ्याक्कै याद छैन। त्यसका लागि नागरिकतै हेर्नुपर्छ। तर काठमाडौँ आएर काम गर्न सुरु गरेको उमेर भने कण्ठै रहेछ, १४ वर्ष।

साथीले काठमाडौँमा काम पाइन्छ भनेपछि उनी पनि पछि लागे। साथी कालीमाटीमा बस्ने अनि रत्नपार्कमा प्लास्टिकको सामान बेच्ने गर्थे। त्यही साथीले काम लगाइदिन्छु भनेपछि २ हजार बोकेर काठमाडौँ आए उनी। तर १५ दिन बस्दा पनि काम नपाएपछि उनी घर फर्किने तयारीमा लागे। साथीहरूले दिल्लीमा काम पाउँछ भनेर फकाए।

होला नि त भनेर उनी दिल्ली जान तयार भए। वीरगन्जसम्म पुगेका उनी त्यतै अड्किए। उनीसँगै गएका कोही पनि दिल्ली गएनन्। तर वीरगन्जमा पनि काम पाएनन्। साथीहरू भने कोही खेतको काममा लागे, कोही घरमा रङ्ग लगाउने काम गरे। अरुण बेरोजगारै।

‘त्यतिबेला मसँग जम्मा ४,५ सय बाँकी थियो। दिल्ली नजाने भएपछि विरगंन्जमा के गरेर बस्ने भनेर घर गए’ उनले भने।

घरको आर्थिक अवस्थाले उनलाई झन् पिरोल्यो। त्यसपछि काठमाडौँमै वर्कसप चलाएको दाइ पर्नेको साथ लागेर उनी पिन काठमाडौँ आए। यो पटक उनी बेरोजगार बस्नु परेन। काठमाडौँमा आए लगत्तै वर्कसपमा काम पाइहाले।

उनले ५ वर्षसम्म मोटरसाइकल वासिङ्गको काम गरे। पछि इन्जिनको काम गर्ने मौका पाए। बिस्तारै इन्जिन बनाउन पनि सिक्दै गए। कोठा थिएन उनको। दिनभर जुन ग्यारेजमा काम गर्थे बेलुका त्यहीँ सुत्थे। साथीको डेरामा गएर भात खान्थे।

पहिलो पटक काम गरेको ग्यारेजमा केही काम सिकेपछि उनी अर्को परिचित दाइको ग्यारेजमा गए काम गर्न।पछि जसले काठमाडौँ ल्याएका थिए उनैले काममा बोलाएपछि त्यतै गए।

‘बानेश्वरमा काम गरे। एभरेस्ट कि के होटेल छ नि हो, त्यहीनिर राम भट्टराई भन्ने दाइकोमा काम गरेको थिए। पछि मिलन चोकमा अर्को वर्कसप पनि काम गरेँ,’ उनले भने’ सुरुमा काठमाडौँ ल्याएकै दाइले बोलाउनु भयो, अनि त्यहीँ काम गर्दै गएपछि आफै साहु भएँ।’

वर्कसप आफ्नो बनाउँदा उनको उमेर २५ वर्षको थियो। सुरुमा जसले काठमाडौँ ल्यायो उसैले अरुणलाई वर्कसप चलाउन दिए। सटरको कोठा भाडा तिर्न नसकेपछि अरुणले कोठा भाडा तिरेर वर्कसप आफ्नो बनाए। तर त्यसका लागि ४५ हजार ऋण लिए।

‘दाइले भाडा तिर्नुभएको रहेनछ। उहाँले यो वर्कसप बेचिदिन्छु भन्नुभयो। अनि मैले मैले यत्रो वर्ष यही बसेर काम गरेँ, मै लिन्छु भने। उहाँले भाडा दिएर चलाऊ न त भन्नुभयो। यताउताबाट ऋण लिएर भाडा तिरेर काम सुरु गरेँ’ उनले भने।

अरुणले वर्कसप जिम्मा लिएपछि ५ जनासम्म कर्मचारी समेत राखे। काम राम्रो आइरहेको थियो। बाबुराम भट्टराई प्रधानमन्त्री थिए। उनले सडक विस्तार गर्ने कार्यक्रम ल्याएपछि उनको वर्कसपमा पनि डोजर चल्यो। उनको व्यवसायमा ओरालो लाग्यो। ओरालो लागेको व्यवसाय अझै उकासिएको छैन।

‘पहिला अलि तल वर्कसप थियो, त्यहाँ काम गर्ने नै ५ जना थिए। ठाउँ पनि ठुलो थियो। ३ पटक सर्दा सर्दा अहिलेको ठाउँमा आएको,’ उनले भने ‘३ पटक त भत्काउने, सार्ने गरेर नै यहाँ आइपुगेँ। यहाँ आएपछि त्यति राम्रो व्यापार भएन।‘

यता व्यापारमा मन्दी आयो। वरपरका साथीहरू विदेश जाँदा उनलाई पनि विदेशै जाऊँ कि भन्ने नलागेको हैन। तर नेपालमै महिनाको १ लाखसम्म कमाई गरेकाले विदेश जान मन लागेन।

‘विदेश जाऊँ जस्तो भएको थियो। अहिले त वर्कसपको भाडा र यसो घर खर्च धानेको छ। तर त्यतिबेला महिनाको १ लाखसम्म कमाई थियो। पहिला बाटो साँघुरो थियो। बाबुरामको पालामा बाटो बढाउँदा मेरो पसलमा पनि डोजर हानेका थिए। त्यसपछि खस्किएको व्यापार उठ्नै सकेन।’

वर्कसपमा डोजर चलेपछि कर्मचारीलाई तलब पनि दिन सकेनन्। अनि सबै कर्मचारीले काम छाडे।

व्यवसाय फस्टाएको बेलामा उनले दिल्लीबाट सामान ल्याएर पनि काम गरेका थिए। व्यवसाय नै ओरालो लाग्यो अनि विरक्त भएर २ वर्ष त काम पनि गरेनन्। तर कति बिरक्तिनु। उनीसँग अर्को विकल्प पनि थिएन। अनि फेरि पुरानै काममा फर्किए।

 पढ्न नपाउँदाको पछुतो

परिवार सङ्ख्या १० जना। बाबु, आमा अरूको खेतीमा ज्यालामा काम गर्थे। घर खर्च बल्लबल्ल चल्ने परिवारका कुनै सदस्यले पढ्न पाएनन्। उनले जम्मा २ कक्षासम्म मात्रै पढेका रहेछन्। त्यसपछि घरको अवस्थाले गर्दा पढ्न पाएनन्। कामका लागि काठमाडौँ हानिए। त्यो बेलामा परिवारका सदस्यलाई घर चलाउन सकेकोमा खुसी थिए उनी। तर अहिले भने पढ्न नपाएकोमा पछुतो लाग्ने रहेछ उनलाई।

‘पढेको भए राम्रो हुन्थ्यो। नपढेर दुख पाएँ। त्यही भएर छोरा छोरीलाई पढाएँ। छोरा- छोरीले जति पढ्छु भन्छन् त्यति पढाउने हो। नपढेको मान्छे र पढेको मान्छेसँग बोल्दा नै फरक हुन्छ। मलाई नपढेकोमा पछुतो लाग्छ’ उनले भने।

भुईँमान्छे

साउन २८, २०८१ सोमबार १९:३७:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।