माओवादी केन्द्र फुट्ने चर्चाबारे प्रचण्डले भने 'हामीलाई केही टेन्सन छैन'

माओवादी केन्द्र फुट्ने चर्चाबारे प्रचण्डले भने 'हामीलाई केही टेन्सन छैन'
फाइल

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुटबारे आफूलाई कुनै टेन्सन नभएको प्रतिक्रिया दिएका छन्। 

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीमा सबै मिलेर जाने बताए। 

बैठकपछि उनलाई सञ्चारकर्मीले 'नेतृत्व हस्तान्तरणबारे लिखित प्रश्न नै आयो नि?' भनेर सोधेका थिए। 

त्यसको जबाफमा प्रचण्डले भने, 'केही हुँदैन। सबै मिलेर जान्छ। तपाईंहरूलाई हो टेन्सन, हामीलाई केही छैन।'

स्थायी कमिटीको बैठकमा उपमहासचिव जनार्दन शर्माले प्रचण्डले नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका थिए। उनले लिखित प्रस्तावमा पार्टीको नेतृत्व हस्तान्तरण गर्ने विषयमा तीन विकल्पसमेत उल्लेख गरेका थिए। 

उपमहासचिव शर्माले पार्टी अध्यक्ष प्रचण्डले नै पार्टी फुट्दैछ भनेर हल्ला चलाएको आरोपसमेत लगाएका थिए। त्यसपछि माओवादी केन्द्र फुटबारे सार्वजनिक वृत्तमा चर्चा भइरहेको छ।  

साउन २७, २०८१ सोमबार १७:५४:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।