हसिनाका छोराले भने- राजीनामा र अमेरिकाबारे मिडियामा आएका सबै दाबी गलत

हसिनाका छोराले भने- राजीनामा र अमेरिकाबारे मिडियामा आएका सबै दाबी गलत

एजेन्सी : बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाका छोरा साजिब वाजेद जोयले आफ्नी आमाले राजीनामाको सम्बन्धमा कुनै पनि बयान नदिएको दाबी गरेका छन्।

जोयले सामाजिक सञ्जालमा आमाको नाममा पत्रिकामा जारी गरेको विज्ञप्ति पूर्णतया झुटो र मनगढन्ते भएको बताएका छन्।

जोयले भने, ‘मैले आमासँग कुरा गरेको छु। उहाँले ढाका छाड्नुअघि वा पछि त्यस्तो कुनै वक्तव्य नदिएको बताउनुभएको छ।’

एक रिपोर्टका अनुसार शेख हसिनाले आफ्ना नजिकका सहयोगीहरूमार्फत मिडियालाई पठाएको सन्देशमा आफूलाई सत्ताबाट हटाउनमा अमेरिकाको हात रहेको दाबी गरेकी थिइन्।

हसिनाले सेन्ट मार्टिन टापु र बंगालको खाडीलाई अमेरिकी नियन्त्रणमा दिएर प्रधानमन्त्री पद बचाउन सक्ने समाचारमा दाबी गरिएको थियो। हसिनाका छोराले यो दाबी पनि गलत भएको बताएका छन्।

यसअघि जुन २०२१ मा बंगाली अखबारहरूमा अमेरिकाले बंगलादेशसँग सेन्ट मार्टिन टापु मागेको दाबी गरेको थियो। उनी यहाँ सैन्य आधार बनाउन चाहेको उल्लेख थियो।

त्यसपछि बंगलादेश वर्कर्स पार्टीका अध्यक्ष राशिद खान मेननले पनि संसदमा अमेरिकाले सेन्ट मार्टिन टापु अधिग्रहण गर्न चाहेको बताएका थिए।

यसै वर्ष मे २६ मा १४ दलको बैठकमा हसिनाले बंगलादेश र म्यानमारका केही क्षेत्रलाई विभाजन गरेर पूर्वी टिमोर जस्तो ‘क्रिश्चियन देश’ बनाउने षड्यन्त्र भइरहेको बताएकी थिइन्।

एक ‘गोरो मान्छे’ले बंगलादेशको सीमाभित्र सेनाको बेस बनाउन दिएमा विना झन्झट चुनाव गर्न दिने प्रस्ताव चुनावअघि नै दिएको हसिनाले दाबी गरेकी थिइन्।

शेख हसिनाले त्यो देश र त्यो ‘गोरो मान्छे’ को हो भन्नेबारे अहिलेसम्म खुलाएकी छैनन्। तर, अधिकांशले शंकामा अमेरिकालाई राखेका छन्।

बंगलादेशको राजनीतिमा यतिखेर हंगामा मच्चाएको सेन्ट मार्टिन टापु अरब व्यापारीहरूले बसाएको मात्र ३ किलोमिटर वर्गको टापु हो। म्यानमारबाट यसको दूरी मात्र ५ माइल छ।

ढाका ट्रिब्यूनका अनुसार यो टापु १८ औं शताब्दीमा अरब व्यापारीहरूले बसाएर जरिरा नाम राखेका थिए। तर, पछि यसलाई ब्रिटिस सरकारले कब्जा गर्यो।

सेन्ट मार्टिनको भौगोलिक स्थिति एकदमै महत्त्वपूर्ण स्थानमा छ। डेली स्टारका अनुसार, यदि कुनै देशले सेन्ट मार्टिनमा सैन्य अड्डा बनाउँछ भने, उसले मलाक्का स्ट्रेट नजिकै समेत स्थान बनाउन सक्छ।

चीनले यातायातका लागि यो मार्ग प्रयोग गर्दै आएको छ। यो टापु चीन र म्यानमारमा नजर राख्न मात्र होइन, भारतले यहाँबाट के गरिरहेको छ भनेर जान्न पनि प्रयोग गर्न सकिन्छ। त्यसकारण पनि यसको महत्त्व बढी छ।

साउन २७, २०८१ सोमबार १०:५७:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।